बेपत्ता छानविन आयोगले देउवा र प्रचण्डमाथि पनि अनुसन्धान गर्ने
काठमाडौं। बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगले द्वन्द्वकालमा बेपत्ता भएकाहरुका आफन्तले दिएको सबै उजुरीमाथि छाविन हुने बताएको छ। आयोगले कसैलाई सानो ठूलो भनेर उजुरीमा प्रभाव नपर्ने बताएको छ। आयोगमा यसअघि नै पूर्वप्रधानमन्त्री तथा काँग्रेस सभापति शेरबहादुर देउवा, तत्कालीन विद्रोही माओवादीका अध्यक्ष पुष्पकमल दाहाललगायत शीर्ष नेताहरुविरुद्ध पनि उजुरी परेको छ।
बेपत्ता कारण सम्पित्त रोकिएको भए आयोगमा सम्पर्क गर्न आग्रह गरेको छ। मंगलबार पत्रकारहरुसँग कुराकानीमा आयोगका अध्यक्ष युवराज सुवेदीले द्वन्द्वकालमा कुनै व्यक्ति बेपत्ता भएका कारण सम्पत्ति रोकिएको भए आयोगमा सम्पर्क गर्न आग्रह गरेका हुन्।
सम्पत्ति हस्तान्तरण, अंशबण्डा लगायतका समस्या आएका छन् भने आयोगमा सम्पर्क गरेर समाधान गर्न सकिने उनले बताए। ‘आयोगमा सम्पर्क गर्नुहोस्। परिपत्र दिनुपर्ने हो की, पत्र लेख्नुपर्ने हो की, कसैलाई भन्नुपर्ने हो की? हामी गर्छौ’, उनले भने।
आयोगले व्यक्ति हेरेर छानबिन नगर्ने प्रतिवद्धता जनाउँदै अध्यक्ष सुवेदीले उजुरी कर्ताले दिएको उजुरीको र छानबिनको आधारमा निर्णय हुने बताए।
ठूला माछालाई छोड्ने र सानालाई समात्ने भन्ने आशंकाहरु नगर्न आग्रह गर्दै उनले भने, ‘अनुसन्धानले को ठूलो को सानो भन्छ। हामीले गरेको अनुसन्धानको नतिजा हेरेर तपाईले मुल्याङ्कन गर्नुहोला।’
आयोगमा २५ सय ६ वटा उजुरीमाथिको अनुसन्धान सुरु भएको छ। आयोगमा परेका उजुरीहरु खोलेको र अनुसन्धान अधिकृत तोकेर रोल्पामा टोली पठाउने तयारी भएको आयोगले जनाएको छ। आयोगका अध्यक्ष सुवेदीले वेपत्ता भएको भनि उजुरी परेका केही व्यक्तिहरु सम्पर्कमा आएको बताए।
आयोगको सम्पर्कमा आएका व्यक्तिहरुको नाम केही दिनमा नै सार्वजनिक गरिने उनले बताए। आयोगका अध्यक्ष सुवेदीले ऐन संशोधनको तयारी शुरु भएको बताएका छन्।
उनले पीडितको सहमतिमा क्षमादान दिन सक्ने गरी कानूनी व्यवस्था गर्न सरकारलाई १४ बुँदे सुझाव दिइएको बताए। अध्यक्ष सुवेदीले भैरवनाथ गण, चिसापानी ब्यारेक र खारा घटना लगायतको अनुसन्धान हुने पनि बताए।
No ads found for this position

डिसी नेपाल
Facebook Comment