हिरोसिमामा आणविक आक्रमणको ८१औं स्मृति दिवस: आणविक हतियारमुक्त विश्वका लागि पुनः आह्वान

डिसी नेपाल
२१ साउन २०८३ १०:०३

टाेकियाे। द्वितीय विश्वयुद्धका क्रममा जापानको हिरोसिमामा भएको विनाशकारी आणविक बम आक्रमणको ८१औँ वर्षगाँठका अवसरमा बिहीबार एक विशेष स्मृति समारोह आयोजना गरिएको छ।

कार्यक्रममा आक्रमणमा ज्यान गुमाएकाहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै विश्वलाई पूर्ण रूपमा आणविक हतियारमुक्त बनाउन पुनः जोडदार आह्वान गरियो।

जापानी सार्वजनिक प्रसारक एनएचकेका अनुसार हिरोसिमास्थित ‘पिस मेमोरियल पार्क’ मा आयोजित वार्षिक स्मृति समारोहमा प्रधानमन्त्री ताकाइची सानेसहित १२३ भन्दा बढी देश तथा अन्तर्राष्ट्रिय संस्थाका प्रतिनिधिहरूको उपस्थिति थियो। समारोहमा आक्रमणमा ज्यान गुमाएका नागरिकहरूको सम्झनामा मौनधारण तथा श्रद्धाञ्जली व्यक्त गरिएको थियो।

यसै अवसरमा हिरोसिमा आणविक बम पीडितहरूको अद्यावधिक नामावली स्मारकमा समावेश गरिएको छ। पछिल्लो एक वर्षभित्र निधन भएका बाँचेका पीडित (हिबाकुसा) सहित अब उक्त नामावलीमा मृत्यु हुनेहरूको कुल संख्या ३ लाख ५३ हजार ६३९ पुगेको छ।

विनाशकारी इतिहासको त्यो कालो दिन

सन् १९४५ अगस्ट ६ का दिन बिहान ठीक ८:१५ बजे अमेरिकाले हिरोसिमा शहरमा ‘लिटिल ब्वाई’ नामक युरेनियममा आधारित आणविक बम खसालेको थियो। क्षणभरमै शहरलाई तहसनहस बनाएको उक्त आक्रमणको विस्फोट, भीषण तापक्रम र विकिरणका कारण सोही वर्षको अन्त्यसम्ममा करिब १ लाख ४० हजार मानिसले ज्यान गुमाएका थिए।

हिरोसिमा आक्रमणको ठीक तीन दिनपछि, अर्थात् अगस्ट ९ मा अमेरिकाले नागासाकी शहरमा ‘फ्याट म्यान’ नामक दोस्रो आणविक बम खसालेको थियो। यी दुई अभूतपूर्व विनाशपछि जापानले अगस्ट १५, १९४५ मा औपचारिक आत्मसमर्पण गरेसँगै दोस्रो विश्वयुद्धको अन्त्य भएको थियो।

‘हिबाकुसा’ को संघर्ष र वर्तमान चिन्ता

आणविक आक्रमणबाट बाँच्न सफल पीडितहरूलाई जापानमा ‘हिबाकुसा’ भनिन्छ। उनीहरूले विगत सात दशकभन्दा बढी समयदेखि आणविक हतियार उन्मूलनका लागि विश्वव्यापी अभियान चलाउँदै आएका छन्। यद्यपि, विकिरणका कारण उनीहरूले जीवनभर क्यान्सर तथा विभिन्न दीर्घरोगसँग निरन्तर लड्नुपरेको छ।

हाल जापानमा करिब ९१ हजार ‘हिबाकुसा’ जीवितै छन् र उनीहरूको औसत उमेर ८६ वर्ष पुगिसकेको छ।

एनएचकेका अनुसार पछिल्लो समय विश्वव्यापी भू-राजनीतिक तनाव र सुरक्षा चुनौतीहरू थप जटिल बन्दै गएका छन्। अमेरिका र रुसबीचको ‘न्यू स्टार्ट’ सन्धिको म्याद सकिनु तथा ‘आणविक हतियार अप्रसार सन्धि’ को समीक्षा सम्मेलनले ठोस अन्तिम दस्तावेज पारित गर्न नसक्नुले विश्वमा आणविक जोखिम झनै बढाएको छ।

८१औँ वर्षगाँठको यस संवेदनशील मोडमा हिरोसिमाले पुनः अन्तर्राष्ट्रिय समुदायलाई आणविक हतियारको पूर्ण उन्मूलन र दीगो विश्व शान्ति स्थापनाका लागि एकजुट भएर लाग्न गम्भीर आग्रह गरेको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *