पर्यटक भित्र्याउन नयाँ योजना बनाउँदै निकुञ्ज

डिसी नेपाल
८ फागुन २०७६ ११:४२

नेपालगञ्ज। पछिल्लो समय आन्तरिक तथा बाह्य पर्यटक भित्र्याउने दौडमा बाँके राष्ट्रिय निकुञ्ज लागे पनि सोचेअनुसारको नतिजा ल्याउन सकेको छैन। गत आर्थिक वर्ष २०७५/०७६ मा निकुञ्जमा आन्तरिक र बाह्य गरी १५० पर्यटक घुम्न आएको तथ्याङ्कले देखाउँछ।

ती मध्ये बाह्य विदेशी पर्यटकको सङ्ख्या आठ मात्र रहेको छ। अन्य निकुञ्जका तुलनामा यस निकुञ्जमा पर्यटक कम आउने कारणको खोजी गरी नयाँ रणनीतिक योजना बनाउन लागिएको निकुञ्ज प्रमुख प्रमोद भट्टराईले जानकारी दिए।

पर्यटक भित्र्याउने योजनाअन्तर्गत निकुञ्जले यहाँका जनप्रतिनिधि, होटल तथा यातायात व्यवसायी, पत्रकार, उद्योगी, व्यापारी र अन्य सरोकारवाला पक्षसँग छलफल कार्यक्रमको आयोजना गरी राय सुझाव लिने काम पनि गरिरहेको उनले बताए।

बाँके जिल्लामा नेपाल भ्रमण वर्षको गतिविधि कम भएकाले निकुञ्जमा पर्यटकको उपस्थिति बढ्न नसकेको होटल व्यवसायी सङ्घका जिल्ला अध्यक्ष भीमलाल कँडेलको जानकारी दिए। उनका अनुसार, भ्रमण वर्षलाई दृष्टिगत गरी सङ्घले नेपालगञ्जमा प्रथम सडक खाना महोत्सव (फुड फेस्टिबल) गर्न लागेको छ।

यही फागुन २३ देखि २४ गतेसम्म हुने खाना महोत्सवमा भारतीय पर्यटक समेत भित्र्याउने सङ्घको योजना छ। करिब ५० हजारले अवलोकन गर्ने र रु दुई करोड बढीको कारोवार हुने लक्ष्य लिइएको महोत्सवमा आउने पर्यटकलाई बाँके निकुञ्ज पु¥याउने सकिने अध्यक्ष कँडेलले बताए।

सो निकुञ्ज नेपालगञ्जदेखि २० किलोमिटर टाँढा पूर्व–पश्चिम राजमार्गको छेउमै अवस्थित छ। राजमार्गको चौबाटो कोहलपुर चोकवाट पूर्व, पश्चिम र उत्तरी क्षेत्रमा अवस्थित यो पाटेबाघको मुख्य क्रिडास्थलका रुपमा समेत परिचित छ। निकुञ्जको मनमोहक प्राकृतिक छँटा, विभिन्न थरीका वन्यजन्तु, नदीनाला र विभिन्न जातिका परम्परागत आवास घर (होमस्टे) ले निकुञ्जको शोभा बढाएको छ।

आठ वर्षअघि स्थापना भएको यो निकुञ्जमा पाटेबाघको सङ्ख्या २१ पुगेको निकुञ्जका प्रमुख भट्टराईले जानकारी दिए। उनका अनुसार, पछिल्लो समय बाघको सङ्ख्या बढ्दै गएपछि पर्यटकको सङ्ख्यामा पनि वृद्धि हुने क्रम बढेको छ।

गाभर भ्याली सामुदायिक होमस्टे र चुरिया रेन्जले पनि निकुञ्जको शोभा बढाएको छ। होमस्टेका प्रमुख कृष्ण चौधरीका अनुसार, चुरे क्षेत्रमा हाइकिङको व्यवस्था भएकाले पनि यो निकुञ्ज पर्यटकको रोजाइँमा पर्ने विश्वास गरिएको छ।

बाँकेमा भ्रमण वर्षको गतिविधि शून्यजस्तै भएरै अहिले होटल व्यवसायी मात्र होइन, स्थानीय निकाय पनि पर्यटक भित्र्याउने दौड र योजनामा लागिपरेका छन्। भ्रमण वर्षलाई दृष्टिगत गरी नेपालगञ्ज उपमहानगरपालिका–२२ र २१ को बीचमा रहेको ‘कान्तिताल’ लाई पर्यटकीय स्थलका रुपमा निर्माण गर्नका लागि धमाधम काम अगाडि बढाइएको छ।

नेपालगञ्ज उपमहानगरपालिकाको आन्तरिक स्रोतबाट तालको पुनःनिर्माण भइरहेको नगर प्रमुख डा धवलशम्शेर राणाले बताए। विगतमा यो ताल पुरैना, पुरैनी तालको नामले चिनिन्थ्यो। नेपालगञ्जदेखि साढे दुई किलोमिटर पूर्व राप्ती सडकको किनारमा पर्ने २५ बिघा क्षेत्रफलमा पैmलिएको छ।

कान्तिताल एउटा प्राकृतिक ताल हो। यो तालको पानी पहिला खेती सिँचाइका लागि प्रयोग गरिन्थ्यो। २०३९ देखि २०७२ सम्म ताललाई माछापालन गर्न ठेक्कामा दिने गरिएको थियो। अहिले आएर नेपालगञ्ज उपमहानगरपालिकाले पर्यटकीयस्थलको रुपमा विकास गर्ने योजना अगाडि बढाएको हो।

यसैगरी, नेपालगञ्जको ऐतिहासिक रानीतलाउ अहिले आएर आन्तरिक तथा बाह्य पर्यटकको आकर्षकको केन्द्र बन्दै गएको छ। डेढ दशक अघिसम्म जीर्ण अवस्थामा रहेको नेपालगञ्ज वडा नं ८ स्थित प्रसिद्ध ऐतिहासिक रानी तलाउको नेपालगञ्ज उपमहानगरपालिकाले पुनःनिर्माण गरेपछि नौका विहार गर्ने र रमणीय पार्कको अवलोकन गर्नेको सङ्ख्या बढ्दै गएको छ।

नगर प्रमुख डा धवलशम्शेर राणाले स्थानीय तहको गठन भएपछि ऐतिहासिक रानीतलाउलाई पर्यटकीयरुपमा विकसित गर्दै लगिएको बताए। पार्क अवलोकनका लागि पश्चिम नेपालका जिल्लाका साथै भारतीय सीमावर्ती क्षेत्रका नागरिकसमेत आउने गरेका छन्। नेपालगञ्जकै अर्को ऐतिहासिक महेन्द्र पार्क पनि आन्तरिक तथा बाह्य पर्यटकको आकर्षकको केन्द्र बनेको छ। यो पार्कलाई ‘मिनी जू’ को पनि नाम दिइएको छ। पार्कमा मयुर, खरायो, जरायो, अष्ट्रिचलगायत विभिन्न थरीका चरा रहेका छन्।

सरकारले सन् २०२० लाई भ्रमण वर्षको रुपमा मनाइने निर्णय गरेअनुरुप सोहीअनुसार नेपालगञ्ज उपमहानगरपालिकाले पनि यहाका पर्यटकीयस्थललाई आकर्षक बनाउने अभियान नै सञ्चालन गरेको नगर प्रमुख राणाले बताए। उनका अनुसार, नेपालगञ्जको यी दुई पार्कका साथै ऐतिहासिक शक्तिपीठ बागेश्वरी मन्दिरको विस्तार, नेपालगञ्जकै कान्तिताल र वाटरपार्कको निर्माण धमाधम भइरहेको छ। यसका साथै नेपालगञ्ज फोहरमुक्त बनाउन प्लाष्टिकजन्य वस्तुको व्यवस्थापनलाई पनि नगरपालिकाले आप्mनो कार्यक्रममा समेटेको छ।

नेपालगञ्ज उपमहानगरपालिका जस्तै यहाका आठवटै पालिकाले पनि भ्रमण वर्षमा आआफ्नो क्षेत्रमा पर्यटक भित्र्याउन योजनाअनुसार कार्यक्रम तय गरेका छन् । “हामीले राप्तीसोनारी गाउँपालिकाको प्रसिद्ध धार्मिकस्थल भुँवरभवानीमा पर्यटकको पहुँच बढाउन सबैखाले संयन्त्र प्रयोग गरेका छौँ”, सो गाउँपालिकाका अध्यक्ष लाहुराम थारुले भने।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *