काठमाडौंको खिचापोखरीबाट ६ करोडको अवैध भेपसहित एक जना पक्राउ, २८ हजार ५०० वटा भेप बरामद
काठमाडौं । काठमाडौंको व्यापारिक केन्द्र खिचापोखरीस्थित आरबी कम्प्लेक्समा प्रहरीले छापा मारी ठूलो परिमाणमा अवैध इलेक्ट्रिक चुरोट (भेप)सहित एक जनालाई नियन्त्रणमा लिएको छ ।
विशेष सूचनाको आधारमा खटिएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले ललितपुरको महालक्ष्मी नगरपालिका-८ बस्ने ३२ वर्षीय नवीन खड्कालाई पक्राउ गरेको हो । बरामद गरिएको अवैध भेपको बजार मूल्य करिब ६ करोड रुपैयाँ बराबर रहेको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार खिचापोखरी क्षेत्रमा अवैध रूपमा भन्सार छलेर ल्याइएका विद्युतीय चुरोट भण्डारण तथा बिक्री वितरण भइरहेको गोप्य सूचना प्राप्त भएको थियो । सोही सूचनाका आधारमा कार्यालयको विशेष टोलीले काठमाडौं महानगरपालिका–२२ खिचापोखरीमा रहेको आरबी कम्प्लेक्समा सर्च अपरेसन चलाएको थियो ।
अनुसन्धानका क्रममा प्रहरी टोलीले कम्प्लेक्सको अण्डरग्राउण्डमा सञ्चालित ‘स्माइल योर च्वाइस’ पसल र सोही कम्प्लेक्सको अर्को भवनमा रहेको ‘भेपमान्डु ट्रेडर्स प्रालि’को गोदाममा एकैसाथ खानतलासी गरेको थियो ।
खानतलासीका क्रममा ती स्थानहरूबाट कुनै पनि बिलबिजक नभएका विभिन्न कम्पनीका २८ हजार ५०० वटा अवैध इलेक्ट्रिक चुरोट (भेप) बरामद गरिएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ ।
प्रारम्भिक अनुसन्धानका क्रममा बरामद गरिएका यी सामग्रीहरू भन्सार छलेर अवैध मार्ग हुँदै काठमाडौंसम्म ल्याइएको र यहाँबाट विभिन्न पसलहरूमा थोक मूल्यमा आपूर्ति गर्ने तयारी भइरहेको देखिएको छ ।
पक्राउ परेका नवीन खड्का र बरामद गरिएका सामग्रीहरूमाथि आवश्यक कानुनी कारबाही तथा थप अनुसन्धानका लागि सम्बन्धित निकायमा पठाउने तयारी भइरहेको प्रहरीले जनाएको छ ।
पछिल्लो समय युवा पुस्तामाझ लोकप्रिय बन्दै गएको भेपको अवैध तस्करी र भन्सार छलीका घटनाहरू बढेसँगै प्रहरीले उपत्यकाका मुख्य व्यापारिक केन्द्र र गोदामहरूमा आफ्नो निगरानी तीव्र पारेको छ ।







डिसी नेपाल







Facebook Comment