बामदेव गौमतलाई राष्ट्रियसभा सदस्य बनाउने नेकपाको निर्णय

डिसी नेपाल
१४ फागुन २०७६ १३:४३

काठमाडौं। नेकपाले संविधान संशोधन नगरी राष्ट्रियसभा सदस्य नबन्ने अडान लिएका नेकपा उपाध्यक्ष बामदेव गौतमलाई राष्ट्रियसभा सदस्य बनाउने भएको छ।

बुधबार बसेको नेकपा सचिवालय बैठकले गौतमलाई राष्ट्रियसभा सदस्य बनाउने निर्णय गरेको हो। गौतम अर्थमन्त्री डा. युवराज खतिवडाको कार्यकाल सकिएपछि २० फागुनमा राष्ट्रियसभा सदस्य मनोनित हुने भएका हुन्।

माघ ९ मा सम्पन्न राष्ट्रियसभा निर्वाचनबाट १९ मध्ये १८ जना निर्वाचित भइसकेका छन्। बाँकी एक जना राष्ट्रपतिबाट मनोनित हुनेछन्। त्यही ठाउँमा गौतमलाई सदस्य बनाउन लागिएको हो।

यसअघि गौतमले राष्ट्रियसभा सदस्यलाई पनि प्रधानमन्त्री बनाउने गरी संविधान संशोधन गर्नुपर्ने अडान राखेका थिए। उनले राष्ट्रियसभा सदस्य प्रधानमन्त्री बन्ने व्यवस्था नभएसम्म आफू राष्ट्रियसभामा नजाने अडान लिँदै आएका थिए।

यस्तै शनिबारको सचिवालय बैठकले संविधान संशोधनका लागि गठन गरेको कार्यदलले तत्काल काम अघि नबढाउने भएको छ।

राष्ट्रियसभा सदस्यको हैसियत प्रतिनिधिसभा सदस्य बराबर हुनेगरी संविधान संशोधन गर्न कार्यदल गठन गर्ने निर्णय शनिबार भएपनि चौतर्फी विरोध भएपछि तत्काल काम अगाडी नबढाउने निर्णय बुधबारको सचिवालयले गरेको हो। कार्यदल बनाएको विषयमा पार्टी भित्र र बाहिरबाट विरोध भएको थियो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *