सेक्युरिटी प्रेस खरिद प्रकरणमा बाँस्कोटा संलग्न भएको अडियाे बारे जानकारी गराउन माग

डिसी नेपाल
१४ फागुन २०७६ १४:४४

काठमाडौं। प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसदहरुले सेक्युरिटी प्रिन्टिङ प्रेस खरिद प्रकरणमा पूर्व सञ्चारमन्त्री गोकुल बाँस्कोटा संलग्न भएको भनिएको अडियो सामाग्रीको सत्य तथ्य सदनलाई जानकारी गराउन सरकारको ध्यानाकर्षण गराएका छन्।

प्रतिनिधिसभाको बुधबारको बैठकको शून्य समयमा बोल्दै कांग्रेसका सांसदहरुले मन्त्री संलग्न भएको भनिएको घटनालगायतका पछिल्ला घटनाबारे सदनलाई स्पष्ट पार्न प्रधानमन्त्रीको ध्यानाकर्षण गराएका हुन्।

सांसद राजेन्द्रकुमार केसीले पूर्व सञ्चारमन्त्री संलग्न भएको भनिएको ७० करोड कमिसन लगायत पछिल्ला घटनाबारे सदनलाई जानकारी गराउन सरकारको ध्यानाकर्षण गराए।

आफ्ना कामको जस लिन लामो समय लिने सरकारले सेक्युरिटी प्रिन्टिङ प्रेसमा भएको भनिएको ७० करोडको कमिसनको भिडियो सामाग्रीका बारेमा जवाफदेही नभएको भन्दै उनले आक्रोश पोखे। ‘आफ्ना जस लिन २ /२ घण्टा रोष्टम कब्जा गर्ने प्रधानमन्त्री आज यत्रो ठूलो काण्डै काण्ड मच्चिता उहाँले जवाफ दिनु पर्ने कि नपर्ने?,’ उनले भने।

सांसद रामबहादुर विष्टले सेक्युरिटी प्रिन्टिङ प्रेस खरिद प्रकरणमा पूर्व सञ्चारमन्त्री गोकुलप्रसाद बास्कोटा र विजय मिश्रबीच ७० करोडको भ्रष्टाचार सम्बन्धि अडियो टेप सार्वजनिक भएको धेरै दिन भइसक्दा पनि सरकारले सदनलाई स्पष्ट जानकारी नदिएको भन्दै यसबारे सत्य तथ्य जानकारी गराउन सरकारको ध्यानाकर्षण गराए।

सांसद रंगमति शाहीले नेपाल वायु सेवाको उडान बन्द हुँदा कर्णालीबासी समस्यामा परको भन्दै उडान सुचारु गराउन सरकारको ध्यानाकर्षण गराइन्। उनले जन्मदिन मनाउन हेलिकोप्टर चार्टर गरेका प्रधानमन्त्रीलाई सिटामोल नपाएर ज्यान गुमाएरका हुम्लाका जनताको माया लागेन भनि प्रश्न गरिन्।

सांसद मिना बुढाले ‘७० करोड सेक्युरिटी प्रिन्टिङ प्रेस निर्माण लगायत अर्बौं भ्रष्टाचार भइरहँदा प्रधानमन्त्री किन चुप बस्छन् भन्दै प्रश्न गरिन्। उनले स्वाधिनता र स्वाभिमानको कुरा गरेरै नथाक्ने नेपाली दाताको आगाडि निहुरिने गरेको उल्लेख गर्दै ट्राफिक प्रहरीले लगाउने पोशाक, पञ्जादेखि प्रहरी विट दाताको सहयोगमा चलेको तर्फ सरकारको ध्यानाकर्षण गराइन्।

शून्य समयमा बोल्दै सांसदहरुले समसामयिक र क्षेत्रगत विषयमा पनि सम्बन्धित निकायको ध्यानाकर्षण गराएका थिए । सांसद बिमला नेपालीले आफ्ना संसदीय दलका नेता शेरबहादुर देउवाले भारतले अतिक्रमण गरेका लिम्पियाधुरा, लिपुलेक लगायत भुभागलाई तत्काल नेपालको नक्सामा पार्न सरकारलाई दिएको ऐक्यवता कार्यान्वयन हुन नसकेकोमा प्रधानमन्त्रीको ध्यानाकर्षण गराइन्।

सांसद मिनबहाहदुर विश्वकर्माले तारकेश्वर नगरपालिका वडा नम्बर १० स्थित श्रीकृष्ण विडारीको घरमा डेरा गरी बस्ने कैलाली धनगढी निवासी दिपा नेपालीलाई दलित समुदायकी भएको थाहा पाएपछि घरवेटीले घर खाली गर्न भनी यातना दिने गरेको भन्दै संविधानको धारा २४ र जातीय भेदभाव र छुवाछुत कसुस सजाय ऐन अनुसार कारवाही गर्न सरकारको ध्यानाकर्षण गराए।

सांसद भवानीप्रसाद खापुङले कालाबजारी, कमिसनखोर, तस्कर, हत्यारा र भ्रष्ट्राचारीहरुले धमिराले आए जस्तो मुलुकलाई भित्र भित्र खोक्रो बनाइरहेको भन्दै त्यसतर्फ सरकारको ध्यानाकर्षण गराए।

सांसद मोहन बाँनियाले सडकदेखि सदनसम्म भ्रष्टाचारको विषयले चर्चा पाएको भन्दै भ्रष्टाचारीलाई कारवाही गर्न सरकारले आग्रह पुर्वाग्रह नगर्ने र कारवाहीका लागि खुट्टा नकमाउने भन्दै सरकारको बचाउ गरे।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *