नेपालमा किराँत प्रदेश बनाउन अमेरिकामा राईहरुको दबाव
वाशिंटन। युनाइटेड किरात राई अर्गनाइजेसन अफ अमेरिकाले हालको प्रदेश नम्बर एको राजानी ‘किराँत प्रदेश’ राख्न माग गरेको छ।
अर्गनाइजेसनको केन्द्रीय सभापति श्रीमती मुना राईको नेतृत्वमा गएको प्रतिनिधि मण्डलले नेपाली महावाणिज्य दूतावास न्युयोर्कमार्फत एक नम्बर प्रदेशका सभामुख र प्रदेश सांसदहरुलाई ज्ञापन पत्र हस्तान्तरण गरेको छ।
न्युयोर्कस्थिीत महावाणिज्यदूत पुष्पराज भट्टराईलाई ज्ञापन पत्र बुझाउँदै सभापति श्रीमती मुना राईले ज्ञापन पत्र चाँडै सरकारी संयत्रमार्फत एक नम्बर प्रदेश सभामा पुर्याई दिन अनुरोध गरेकी थिइन्।
महावाणिज्यदूत पुष्पराज भट्टराईले नेपाल सरकारको सम्बन्धित निकायमा पठाउने प्रतिवद्धता व्यक्त गरेका थिए। ज्ञापनपत्र अर्गनाइजेसनका मिडिया को–अर्डिनेटर सुरेश चाम्लिङले पढेर सुनाएका थिए। ज्ञापनपत्रको बोधार्थ प्रधानमन्त्री केपी ओली र एक नम्बर प्रदेशका मुख्यमन्त्री शेरधन राईलाई दिइएको छ।
प्रतिनिधि मण्डलमा अर्गनाइजेसनका संस्थापक सभापति शिवकुमार राई, पूर्व केन्द्रीय सभापति मिलन राई, न्युयोर्क लोकल च्याप्टर सभापति केशवराम राई, कोषाध्यक्ष गणेश राई, बिओडी सुखराज राई, लोकल च्याप्टर सदस्यहरु बिबेक राई, तारा राई र अग्नि साङपाङ सहभागी थिए भने न्युइंग्ल्याण्ड लोकल च्याप्टर महासचिव शेखर राई र भिम राई पनिज सहभागी थिए।

ज्ञापनपत्रमा युनाइटेड किरात राई अर्गनाइजेसन अफ अमेरिका अमेरिकाको कानुन अनुसार दर्ता भएर ११ वटा राज्यमा च्याप्टर भएको संस्था भएको अर्गनाइजेशनले जारी गरको विज्ञप्तिमा उल्लेख छ।
अर्गनाइजेशनले नेपालमा मानव सेवा लगायतको कार्य गर्दै आएको छ। ‘हाल नेपालमा संघीयता कार्यान्वयन गर्ने सन्दर्भमा प्रदेशको नामाकरण हुँदै गर्दा पूर्वमा रहेको १४ जिल्ला हालको प्रदेश नम्बर एकलाई किराँत प्रदेश नामाकरण गरिनु पर्छ,’
विज्ञप्तिमा भनिएको छ, ‘किरात समुदायले इतिहासको काल खण्डमा आफ्नो विशिस्ट भाषा,संस्कार संस्कृति सभ्यता स्थापित गरी राज्यलाई नै सम्वृद्ध बनाएकोले पनि किरात प्रदेश हुनु भूगोल, इतिहास र सभ्यताको सम्मान हो।’
विज्ञप्तिमा नेपालको इतिहासमा अस्तित्वमा रहेको वल्लो किराँत, माझ किराँत र पल्लो किरात भूगोलको एकीकृत स्वरुप नै हाल को एक नम्बर प्रदेश भएकोले सो प्रदेशको नामकरण ‘किरात प्रदेश’ होस् भन्ने माग गरिएको उल्लेख छ।
यसअघि नेपालका किराँत राई यायोखा केन्द्रीय समितिले हस्ताक्षर संकलन गरी मुख्यमन्त्रीलाई बुझाउँदा अमेरिका बस्ने किराँतहरुबाट अर्गनाइजेसनको पहलमा हस्ताक्षर संकलन गरी पठाइएको पूर्व केन्द्रीय सभापति बिष्णु राईले बताए।
No ads found for this position

डिसी नेपाल
Facebook Comment