अधिकारीको पूर्णकदको शालिक अनावरण

डिसी नेपाल
१५ फागुन २०७६ १३:१०

पोखरा । अघिल्लो वर्ष फागुन १५ गते हेलिकोप्टर दुर्घटनामा ज्यान गुमाएका तत्कालीन संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीको पूर्णकदको शालिक आज अनावरण गरिएको छ।

पोखरा महानगरपालिका–१८ जामुनाबोटमा राष्ट्रिय विभूति तथा शहीद उद्यान व्यवस्थापन समितिद्वारा निर्मित अधिकारीको शालिक गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले अनावरण गरे ।

उद्यान परिसरमा गण्डकी प्रदेश सरकारले शालिकसहितका संरचना निर्माणका लागि रु १५ लाख उपलब्ध गराएको हो।

कार्यक्रममा मुख्यमन्त्री गुरुङले समृद्धि र विकासका लागि अधिकारीले देखाएको बाटो सबैका लागि अनुकरणीय भएको बताए ।

उनका अधुरा सपनालाई साकार पार्नु हामी सबैको साझा कर्तव्य भएको बताउँदै उनले विकासप्रेमी नेताका रूपमा अधिकारीको स्मरण गरे ।

जनप्रतिनिधि जनता र मुलुकका पक्षमा क्रियाशील हुनुपर्नेमा जोड दिँदै उनले चुनावमा गरिएका प्रतिबद्धतालाई आत्मसात् गर्नुपर्ने बताए ।

संविधानको संशोधन राष्ट्रिय आवश्यकताका आधारमा हुनुपर्ने बताउँदै मुख्यमन्त्री गुरुङले व्यक्तिगत आवश्यकताका आधारमा संशोधन गर्न नहुने धारणा राखे ।

सांसद खगराज अधिकारीले अधिकारीका सपना पूरा गर्न अविचलितरूपमा लाग्ने प्रतिबद्धता व्यक्त गरे।

गण्डकी प्रदेशका आन्तरिक मामिला तथा कानूनमन्त्री हरिबहादुर चुमानले अधिकारीले देखाएको बाटो आत्मसात् गर्न सके मात्रै उनीप्रति सच्चा श्रद्धाञ्जलि हुने बताए ।

पोखरा महानगरपालिका प्रमुख मानबहादुर जिसीले अधिकारीका योगदानलाई जीवन्त राख्नुपर्नेमा जोड दिए।

पोखरालाई व्यवस्थित बनाउन चोकचोकमा रहेको शालिकलाई यही शहीद उद्यानमा ल्याइने योजना रहेको उनले जानकारी दिए ।

महानगरपालिका–१८ का वडाध्यक्ष एवं राष्ट्रिय विभूति तथा शहीद उद्यान व्यवस्थापन समितिका अध्यक्ष रणबहादुर थापाको अध्यक्षतामा भएको कार्यक्रममा सचिव लक्ष्मण तिमिल्सिनाले उद्यान पोखराको पर्यटन प्रवद्र्धनमा सहयोगी बन्ने विश्वास व्यक्त गरे ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *