के ओली सरकार ढलाउने चलखेल हुँदैछ ? प्रचण्ड निवासमा के पाक्यो खिचडी ?

डिसी नेपाल
१६ फागुन २०७६ १२:०९

काठमाडौं। नेकपाका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच सम्बन्ध चिसिएका बेला प्रचण्ड निवास खुमलटारमा नेकपाका शीर्ष नेताहरुको भेटवार्ता भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीको सचिवालय निर्णय नमान्ने सन्देश दिएपछि यो बैठक भएको हो ।

बैठकमा बरिष्ठ नेता झलनाथ खनाल, पूर्व प्रधानमन्त्री माधव नेपाल, अध्यक्ष प्रचण्ड, उपाध्यक्ष बामदेव गौतम, नेता वर्षमान पुन सहभागी भएको स्रोतले जानकारी दिएको छ । केही दिनअघि पार्टीको सचिवालयले बामदेव गौतमलाई राष्ट्रिय सभा सदस्य मनोनयन गर्ने निर्णय गरेको थियो । तर, लगत्तै प्रधानमन्त्री ओलीले माधव नेपाललाई बालुवाटार बोलाएर आफूले यो निर्णय नमान्ने सन्देश दिएका थिए । उनले युवराज खतिवडालाई नै निरन्तरता दिन चाहेका छन् ।

आजको बैठक प्रधानमन्त्रीको यही सन्देशका विषयमा केन्द्रित रहेको बताइएको छ । आजको बैठकमा नेताहरुले प्रधानमन्त्रीले कुनै हालतमा पार्टीको सचिवालयले गरेको सर्वसम्मत निर्णय मान्नुपर्ने निष्कर्षमा पुगेको बताइएको छ । आजको बैठकमा प्रधानमन्त्रीले पार्टीको निर्णय मान्नुपर्ने अन्यथा उनको विकल्प खोज्नुपर्ने निष्कर्ष निकालिएको स्रोतको दावी छ ।

यद्यपि सहभागी नेताहरु भने बैठक बसेको स्वीकार गर्न तयार छैनन् । बिहान ८ बजे बैठक बसेको थियो । त्यसलगत्तै अध्यक्ष प्रचण्ड चितवन पुगे । उनकी स्वकीय सचिव गंगा दाहालले बैठक नबसेको जिकिर गरिन् । झलनाथ खनालले पनि आफू अर्कै बैठकमा शिवपुरी रहेको दावी गरे । तर, स्रोतका अनुसार यी दुवै नेताहरु बैठक सकिएपछि त्यहाँ गएका हुन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *