जापानमा विद्यालयहरु छुट्टी, कन्सर्ट र पार्कमा भेला हुन प्रतिबन्ध

डिसी नेपाल
१६ फागुन २०७६ १८:४९

टोकियो । प्राणघातक कोरोना सङ्क्रमणको जोखिमबाट सुरक्षित रहन जापानमा एक महिनाका लागि विद्यालयहरु बन्द गरिएको छ । साथै बिटीएस कन्सर्ट समेतका सबै मनोरञ्जनात्मक कार्यक्रमहरु बन्द गरिएको छ भने मानिसहरु जमघट हुने ठूला कार्यक्रमहरुमा रोक लगाइएको छ । कोरोना सङ्क्रमण रोकिनुको साटोे एसियादेखि युरोप हुँदै शुक्रबार अफ्रिकी उप–सहारा क्षेत्रमा कोरोना सङ्क्रमित व्यक्तिहरु देखिएका छन् ।

जापानमा प्राथमिक, माध्यमिक र उच्च माध्यमिक विद्यालयहरु बन्द हुँदा त्यसबाट झण्डै १ करोड ३० लाख बालबालिका घरमै बस्नु पर्नेछ । जापानमा आयोजना हुने गरी पूर्व तयारी गरिएका खेलकुद र सांगीतिक कार्यक्रमहरु रद्द भइसकेका छन् । टोकियो डिज्नेल्यान्ड र टोकियो डिज्नेसी दुबै मार्चको मध्यसम्मका लागि बन्द गरिएको छ ।

गत डिसेम्बरबाट चीनको उहानहुँदै फैलिएको कोविड–१९ नामको नयाँ कोरोना जीवाणु (भाइरस) एसियाली मुलुकहरुका अलावा युरोप र अफ्रिकासम्म पुगेको छ । साउदी अरेबियाले मुस्लिम समुदायको पवित्र धार्मिक तिर्थस्थल मक्काको भ्रमणमा विदेशी नागरिकमाथि कडाई गरेको छ र मध्यपूर्वमा एक सयभन्दा बढी व्यक्तिमा कोरोनाको सङ्क्रमण देखिएको छ ।

इटालीमा कोरोनाको सङ्क्रमण बढेसँगै कतिपय गाउँ शहरमा निर्वाध आवागमनमा प्रतिबन्ध लगाइएको छ । अफ्रिकी मुलुक नाइजेरियामा समेत शुक्रबार एक व्यक्तिमा कोरोनाको लक्षण देखिएको छ ।

कोरोनाबाट सङ्क्रमित भएका व्यक्तिहरुको संख्या करिब ८३ हजार पुगिसकेको छ, र यसबाट चीन सबैभन्दा बढी प्रताडित छ । तर दक्षिण कोरियामा पनि कोरोना सङ्क्रमितको संख्या २ हजार नाघिसकेको छ । अरु केही मुलुकमा पनि सङ्क्रमित व्यक्तिको संख्या बढ्नुका साथै मृत्यु हुने व्यक्तिहरुको संख्या निरन्तर बढेको छ । इरानमा २६ जनाको मृत्यु भएको छ भने २५० जनाभन्दा बढीमा कोरोना देखिएको छ ।

अमेरिकी रक ब्यान्ड ग्रीन डेले एसियाली मुलुकमा गर्ने सांगीतिक कार्यक्रम रद्द गरिसकेको भने जापानमा हुन लागेको अमेरिकी अर्केस्ट्रा कार्यक्रम पनि रद्द भएको छ । हङकङ र शाङघाईमा रहेका डिज्ने पार्कहरु पनि बन्द गरिएका छन् ।

जापानी प्रधानमन्त्री शिन्जो आबेले मार्चको अन्त्यसम्म सबै विद्यालय बन्द गर्न आग्रह गरेका छन् । तर प्रधानमन्त्रीको आदेश अघि नै केही विद्यालयहरु बन्द भइसकेका छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *