त्रिभुवन विमानस्थलको लापरवाही, फेब्रुअरी २९ को बोर्डिङ पासमा १ महिना अगाडिको छाप

डिसी नेपाल
१९ फागुन २०७६ १२:२४

काठमाडौँ । रोजगारीको लागि कतार गएका एक नेपाली युवालाई त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल स्थित प्रहरीले १ महिना अगाडिको छाप हानेर पठाएको छ ।

स्याङजाका अबुबकर अली नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स) को २३९ को उडानबाट गत फेब्रुअरी २९ तारिखमा दोहा उडेका थिए । उनको बोर्डिङ पासमा १ महिना अगाडि अर्थात जनवरीको २९ को छाप लगाइएको हो ।

‘मेरो फेब्रुअरी २९ तारिख बेलुका नेपाल एयरलाइन्सबाट कतारको लागि उडान थियो । म विमानस्थलको सबै प्रक्रिया पूरा गरेर अन्तिममा विमानस्थल प्रहरीले गर्ने सुरक्षा जाँचको लागि लाइनमा थिएँ,’ उनले भने ‘मेरो साथमा भएका ह्याण्ड ब्याग, पर्सलगायतका अन्य समानहरु चेकजाँच गरिसकेपछि त्यहाँ ड्युटीमा रहेका प्रहरीले बोर्डिङ पासमा सेक्युरिटी चेकिङको छाप लगाइदिनु भयो । उहाँले १ महिना अघिको छाप लगाइदिनु भएको रहेछ । मैल त्यो देखेपछि त्यहाँ भन्दा थोरै अगाडी रहेका अर्को एक जना प्रहरी दाईलाई यस विषयमा जानकारी गराएँ । तर, उहाँले केही फरक पर्दैन भन्नु भयो ।’

उनले आफू डरैडरमा कतार उडेको बताए । ‘कुनै कारणवश मेरो बोर्डिङ पास दोहामा चेक गरेको भए म समस्यामा पर्न सक्थेँ होला । विमानस्थल जस्तो संवेदनशील ठाउँमा यति ठूलो लापरवाही हुनु सामान्य कुरा होइन,’ कतारबाट डिसी नेपालसँगको सम्पर्कमा आएका अली भन्छन् ‘त्यो दिन कि बिहानैदेखि सबैको बोर्डिङ पासमा त्यो छाप लगाइएको हुनसक्छ अथवा एक महिना अघिदेखि नै यसरी जनवरी महिनाको छाप लगाउँदै आइएको हुनसक्छ ।’ अलीले आफूले थाहा पाएको तर, प्रायले थाहा नै नपाउने यदि थाहा पाइहाले पनि नबताएको हुनसक्ने बताए।

यसविषयमा जानकारी लिन त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका महानिर्देशक देवेन्द्र केसीलाई डिसी नेपालले सम्पर्क गरेको थियो । तर उनले यस्ता गल्ती कहिलेकाँही हुने भन्दै गैरजिम्मेवारी जवाफ दिए । ‘यस्ता गल्ती हुन्छन् कहिलेकाँही । यो ठूलो कुरा होइन’ उनले भने । त्यसरी गलत छाप लगाउनेलाई के हुन्छ भन्ने विषयमा सोध्दा उनले जसले छाप लगायो उसलाई नै सोध्नु पर्ने बताए । ‘यो विषयमा जसले छाप लगाएको हो त्यसैलाई सोध्नुहोस् । उसले के भन्छ’ उनले भने ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *