कम्पनीको लापरबाहीका कारण एक वर्षदेखि पुलहरु अलपत्र

डिसी नेपाल
१९ फागुन २०७६ १९:३०

भिमदत्त । निर्माण कम्पनीको गैरजिम्मेवारीका कारण कञ्चनपुरको कृष्णपुर नगरपालिका–१ मा दुई पक्की पुल अलपत्र परेका छन् । एक वर्षभित्र निर्माण सक्ने गरी पुल निर्माणको जिम्मा पाएको निर्माण कम्पनीले चार वर्ष बितिसक्दा पनि पुल निर्माण गर्न सकेको छैन ।

विसं २०७३ भदौमा स्थानीय खारखोला र ओदाल गाडमा पक्की पुल निर्माणको जिम्मा सन्तोष थेगिमले पाएको थियो । स्थानीयवासीले भने पुल निर्माणमा ढिलाइ हुँदा समस्या भइरहेको दुःखेसो पोखेका छन् । दोमिल्लाका स्थानीयवासी दीपक भण्डारीले पुल नभएकै कारण बर्षात्का बेला निकै समस्या खेप्नु परेको बताए । ‘पुल नबन्दा गाउँका बालबालिकालाई विद्यालय जानदेखि गाउँमा बिरामी हुँदा एम्बुलेन्स ल्याउनसम्म गाह्रो छ’, उनले भने, ‘एक वर्षमा बन्नुपर्ने पुल चार वर्षसम्म नबन्दा सरोकारवाला निकाय मौन छन् ।’

बुडर–नायल–बङ्क सकड खण्डअन्तर्गत ओदाल गाड र खारखोलामा निर्माणाधीन पुल निर्माण कम्पनीलाई कारवाहीको दायरामा ल्याउनुपर्ने स्थानीयवासीको माग छ । ‘राज्यको पैसा लगेर पुल बनाउन वास्ता नै नगर्ने ठेकेदारलाई छुट हुनु हुँदैन’, स्थानीय वीरबहादुर साउदले बताए, ‘सरोकारवाला निकायलाई दबाब दिँदा पनि सुनुवाइ भएको छैन ।’

बर्षात्का बेला चुरे क्षेत्रका खहरेखोला मिसिएर उक्त खोलामा बाढीको समेत समस्या हुने गरेको उनको भनाइ छ । सडक डिभिजन कार्यालयका सूचना अधिकृत लक्ष्मणदत्त जोशीले पुल निर्माणमा ढिलाइ भएकै कारण ठेकेदार कम्पनीले ठेक्काको दश प्रतिशत हर्जाना तिराएको बताए। ‘ठेकेदारले अहिले समय थपका लागि निवेदन दिएको छ’, उनले भने, ‘समय थप भएसँगै निर्माण अगाडि बढाउने भनिएको छ ।’

दुवै पुलको लम्बाइ ७० मिटर रहेको सूचना अधिकृत जोशीले बताए। ओदाल गाडको पुलमा आठ करोड ४७ लाखमा सम्झौता भएको थियो भने खारखोलाको पुलमा छ करोड ७९ लाखमा सम्झौता भएको सडक डिभिजन कार्यालयले जनाएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *