रामचन्द्र पौडेललाई कांग्रेसमा ‘महान’ बन्ने अवसर

डिसी नेपाल
२२ फागुन २०७६ १०:२२

नेपाली कांग्रेसको आगामी १४ औं महाधिवेशनलाई लिएर चर्चा सुरु भएको छ। विगतका महाधिवेशनलाई नजिकबाट नियाल्ने र आगामी महाधिवेशनमा हुने संभावित घटनालाई विश्लेषण गर्नेहरुले नेपाली कांग्रेसको वर्तमान सभापति शेरबहादुर देउवा नेपाली कांग्रेसको लामो इतिहाससँगै हुर्र्र्किएर बढेर यहाँसम्म आइपुगेका परिपक्व नेता भएको मान्छन्।

तर दुर्भाग्य के हो भने लोकतन्त्र विरोधी, संविधानसभाबाट जारी संविधान च्यात्न, व्यवस्था भत्काउन र लोकतान्त्रिक पद्धति असफल गराउन चाहने तत्वबाट सभापति देउवा घेरिनु भएको छ।

सभापति देउवालाई यस्ता व्यक्तिहरुले घेरेका छन् जसले उहाँलाई आफूअनुकूल चलाउन चाहन्छन्। यो समूहले सभापतिलाई आफ्नो घेराभन्दा बाहिर हेर्न र बुझ्न दिँदैनन्। उहाँलाई निश्चित घेराभित्र राखेर आफूले जे देखायो त्यसैलाई सही मान्ने अवस्थामा पारिरहेका छन्।

नेपाली कांग्रेसकै पनि जनाधार गुमाएका, शक्तिका वरिपरी बसेर चुस्न चाहने एकाध व्यक्तिको झुण्डले उहाँलाई घेरेर राखेको छ। यो नै दुर्भाग्य हो। लोकतान्त्रिक गणतन्त्र असफल गराउन चाहने उग्रदक्षिणपन्थीबाट लोकतान्त्रिक व्यवस्थाको वा लोकतन्त्रको पहरेदार नेपाली कांग्रेस घेराबन्दीमा परेको छ।

आम नागरिकलाई लोकतन्त्रको अनुभूति दिलाउनका लागि लडेर लोकतान्त्रिक शासन व्यवस्थाको अनुभूति गराउने वचनवद्धताका साथ राष्ट्रिय/अन्तर्राष्ट्रिय मन जितेर पटक–पटक मुलुकको लोकतान्त्रिक पद्धतिको लडाइँमा होमिदै लडाइँ जित्दै यहाँसम्म आइपुगेको कांग्रेसका सभापतिको दुर्दशा हुनु दुर्भाग्य नै हो।

कांग्रेस सभापति देउवालाई नजिकबाट हेर्दा र बुझ्दा ‘विनास काले विपरित बुद्धि’ भनेजस्तै देखिन्छ । उहाँले जे गर्दै हुनुहुन्छ त्यो पार्टी र मुलुकको हितका लागि नभइ आफू शक्तिमा रहिरहनका लागि गर्दै हुनुहुन्छ। उहाँलाई यस्तो गर्न ती तत्वहरुले उक्साइरहेका छन् जो उहाँको निकट रहेर लाभ लिन चाहन्छन्।

पौडेलले यदि त्याग देखाउने हो भने उहाँ महान बन्ने अवसर हुन्छ। उहाँको अनुकरण गर्न सभापति देउवा पनि बाध्य हुनुहुनेछ। त्यसैले रामचन्द्र पौडेलले अब आफू पछि हटेर (पार्टीले चुनाव जिते प्रधानमन्त्री बनेर मुलुक हाँक्ने) आउने महाधिवेशनमा लोकप्रिय र कांग्रेसलाई सही दिशातर्फ लैजान र सही नेतृत्व दिन सक्ने व्यक्तिलाई सभापतिको उम्मेद्वार बनाउनुपर्छ।

आउने महाधिवेशनमा आफू सभापति बन्न र आफूलाई पुन निर्वाचित गराउने सपनामा सभापति देउवाले अलोकतान्त्रिक उग्रदक्षिणपन्थी र राज्यव्यवस्था असफल गराउने शक्तिको उक्साहटमा र जनाधार नभएका केही कांग्रेसका नेताको घेराबन्दीमा परेर अघि बढिरहनुभएको छ। ती तत्वको प्रभावमा परेर कांग्रेसलाई समाप्त पार्ने टुलको रुपमा वर्तमान सभापति देउवा प्रयोग हुँदै हुनुहुन्छ।

अहिलेको कम्युनिष्ट पार्टीको शासनलाई खबरदारी गर्ने अनि लोकतान्त्रिक परिपाटीमा हिँडाउने जिम्मेवारी र जवाफदेहीता बोकेको प्रतिपक्ष लोकतान्त्रिक दल नेपाली कांग्रेस यस्तो हुँदा मुलुक दुई पांग्रे रथको एउटा पांग्रो छुटेर एउटा मात्रै पांग्रेले हिँड्न खोजे जस्तो भएको छ।

प्रतिपक्षको खबरदारीबिना अघि बढिरहेको सत्तापक्ष निरंकुश हुन खोज्दैछ तर त्यसलाई सही बाटोमा ल्याउने जिम्मेवारी बोकेको कांग्रेसले आफ्नो भूमिका बिर्सिएको छ। देशका लागि आफ्नो आवश्यकता टड्कारो भएका बेला त्यलाई बिर्सिएर पार्टीभित्र शक्ति आर्जन गर्ने लालसाका त्यसैको पछि दौडिनु कांग्रेस सभापतिको दुर्भाग्यपूर्ण कदम हो।

कम्युनिष्टले लोकतान्त्रिक अनुभूति नागरिकलाई दिलाउन सक्दैनन्। र, आम लोकतन्त्र पक्षधर नागरिक र संसारले पनि विश्वास गर्दैनन्। तर, जनताले दिएको मौका उसले प्रयोग गर्दा उसको खबरदारी गर्ने शक्तिको यो हालत हुनु आम नागरिक र मुलुकका लागि दुर्भाग्य हो।

त्यसैले देशी विदेशी उग्र दक्षिणपन्थी र जनाधार गुमेका त्यस्ता समूहबाट घेरिएर जायज उपयुक्त र लोकतान्त्रिक पक्षधर जनाधार रहेका नेताहरुलाई पन्छाउन खोज्नु उचित होइन।

अर्का नेता कृष्णप्रसाद सिटौलाले यसअघिको १३ औं महाधिवेशनमा जुन भूमिका निर्वाह गरेका थिए, करिब करिब त्यही भूमिकामा फेरि दोहोरिएर कृष्णप्रसाद सिटौला देखा पर्ने संकेतले नेपाली कांग्रेसलाई देशी विदेशी षड्यन्त्रकारी शक्तिहरुले सिध्याउन खोजेका हुन्? भन्ने आशंका उब्जिएको छ।

लेखक : जगदीश दाहाल

वर्तमान सभापति देउवा नजानी नजानी र पूर्व महामन्त्री सिटौला जानी बुझी वा नजानिकन देशी विदेशी षड्यन्त्रकारी शक्तिका गोटी बन्ने र कांग्रेसलाई कमजोर बनाउने अनि कहिल्यै सत्ता र शक्तिमा आउनै नसक्ने र त्यस किसिमले जनताले विश्वास गर्नै नसक्ने ठाउँमा पुर्याउने कुरामा किन लागेका छन्? यो गम्भीर प्रश्न हो।

त्यसैले अब नेता रामचन्द्र पौडेलले कांग्रेस जोगाउन र लोकतान्त्रिक परिपाटी, संविधानसभाबाट जारी संविधान जोगाउन लोकतान्त्रिक गणतन्त्रलाई सही दिशातर्फ लैजान र खबरदारी गर्न सशक्त कांग्रेसको आवश्यकता महशुस गरेर सबैलाई समेट्न र संगठित गर्न आफू अभिभावक बन्न आवश्यक छ।

नेता पौडेलले यदि त्याग देखाउने हो भने उहाँ महान बन्ने अवसर हुन्छ। उहाँको अनुकरण गर्न सभापति देउवा पनि बाध्य हुनुहुनेछ। त्यसैले रामचन्द्र पौडेलले अब आफू पछि हटेर (पार्टीले चुनाव जिते प्रधानमन्त्री बनेर मुलुक हाँक्ने) आउने महाधिवेशनमा लोकप्रिय र कांग्रेसलाई सही दिशातर्फ लैजान र सही नेतृत्व दिन सक्ने व्यक्तिलाई सभापतिको उम्मेद्वार बनाउनुपर्छ।

अब त्यस्तो व्यक्तिको पार्टीभित्र खोजी गर्नुपर्छ। विद्वान राष्ट्रिय/अन्तर्राष्ट्रिय रुपमा कहलिएका रामशरण महत, अर्जुन नरसिंह केसी, प्रकाशमान सिंह, डा. शेखर कोइराला, डा. शशांक कोइराला, सुजाता कोइरालालगायतका नेताको समर्थनमा कोही एक व्यक्तिलाई आगामी महाधिवेशनमा सभापति उठाउन र एकजुट भएर सभापतिमा जिताएर सशक्त रुपमा कांग्रेसलाई एक बनाएर संघीय लोकतान्त्रिक गणतन्त्र, संविधासभाबाट जारी संविधानको पक्षमा उभिन सक्ने व्यक्तिलाई सभपाति बनाउन आजको टड्कारो आवश्यकता महशुस गरेर रामचन्द्र पौडेलले भूमिका निर्वाह गर्नुपर्छ।




प्रतिक्रिया

One thought on “रामचन्द्र पौडेललाई कांग्रेसमा ‘महान’ बन्ने अवसर

  1. भिजन दिन सक्ने लोकप्रीय नेता छानेर आगामी माहाधिबेशन मा सभापती जिताउन सके मात्र रामचन्द्र माहान ठहरीने छन !!

Leave a Reply

Your email address will not be published. Required fields are marked *