कोरोनाले आतंक मच्चाइरहेको बेला अध्ययन गर्न भन्दै सरकारी जम्बो टोली विदेश भम्रणमा

बिनेश खनाल
२३ फागुन २०७६ १२:५०

काठमाडौँ। गत आइतबार बसेको मन्त्रिपरिषद बैठकमा नेपाल भ्रमण वर्ष २०२० स्थगित गर्ने विषयमा छलफल भयो। त्यसपछि सरकारले भीडभाड नगर्ने, त्यस्तो ठाउँमा नजान आग्रह गर्दै चैत पाँच गतेभित्र कक्षा १ देखि ९ कक्षासम्मको परीक्षा सक्न आग्रह गरेको थियो। शुक्रबार बसेको प्रतिनिधिसभा बैठकमा सांसदहरुले कोरोना भाइरसबाट सचेत रहन सरकारको ध्यानाकर्षण पनि गराए।

यसैगरी सरकारले कोरोना भाइरस संक्रमण भएका मुलुकमा नेपाली कामदार नपठाउने निर्णय गरेको छ। पछिल्लो समय सरकारले कोरोना भाइरसका विषयमा उच्च सतर्कता अपनाइरहेका बेला सांसदहरुको टोली भने विदेश भ्रमणमा व्यस्त छ। प्रतिनिधिसभा सदस्यहरुको एउटा जम्बो टोली भने खाडी मुलुकमा घरेलु कामदारको अध्ययनका लागि भन्दै १० दिने भ्रमणमा निस्किएको छ । टोली ती देशहरुमा घुमिरहेको छ जहाँ कोरोनाभाइरस संक्रमण भेटिइसकेको छ ।

खाडी मुलुक साउदी अरब, यूएई र ओमनमा रहेका घरेलु कामदारको अवस्था, समस्या तथा समाधानको लागि चालिनु पर्ने कदमका विषयमा स्थलगत अवलोकन गर्न भन्दै उनीहरुले भ्रमण तय गरेका हुन्। प्रतिनिधिसभा अन्तर्गत उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समिति र राष्ट्रिय मानव अधिकार आयोगका प्रतिनिधि भम्रणमा सहभागी छन्।

टोलीमा प्रतिनिधिसभा उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिका सभापति विमलप्रसाद श्रीवास्तव र सदस्यहरु सांसद भीमसेनदास प्रधान, गोपालबहादुर बम, दुर्गाकुमारी विश्वकर्मा, प्रमोद साह, सूर्यनारायण यादव, संसद सचिवालयका उपसचिवद्वय शिवदत्त बराल र केशवराज सुवेदी पनि भ्रमण टोलीमा छन्। त्यस्तै राष्ट्रिय मानवअधिकार आयोगका सदस्य सुदिप पाठक र शाखा अधिकृत रविलाल नेपाली पनि भम्रण टोलीमा सामेल छन्।

उनीहरुले फागुन १७ देखि २८ गतेसम्म खाडीका विभिन्न मुलुकको भ्रमण गर्ने कार्यक्रम छ। सांसदहरुको टोलीले पहिलाे ओमन भ्रमण गरेको थियो। टोलीले ओमनको शुरा काउन्सिल (प्रतिनिधिसभा) का अध्यक्ष खालिद विन हिलाल अल मावली र स्टेट काउन्सिल (राष्ट्रियसभा) का अध्यक्ष याहृया विन महफौद अल मन्थरीसँग बेग्ला/बेग्लै द्विपक्षीय भेटघाट गरेको थियो। त्यस्तै टोलीले दोस्रो दिन राजदूत निवासमा ओमनमा रहेका नेपाली संघसंस्थाका प्रतिनिधिसँग अन्तरक्रिया गरेको थियो।यतिबेला टोली साउदी पुगेको छ । साउदीमा पनि टोलीले भेटघाट गरिसकेको छ ।

अहिले कोरोना भाइरसदेखि विश्व आक्रान्त छ। खाडी मुलुकका सरकारी निकायले सार्वजनिक रुपमा कार्यक्रमहरु गर्न पूर्ण रोक लगाएका छन्। यस्तो बेला सरकारले सावधानी अपनाउनु पर्नेमा अध्ययनको नाममा विदेश भम्रणमा गएर त्यहाँ रहेका नेपालीहरुलाई जम्मा पारेर कार्यक्रमहरु आयोजना गर्दा कोरोना भाइरसकाे संक्रमण फैलिन सघाउ पुग्ने सम्भावना बढ्छ।

साउदीमा नेपाली समुदायसँग अन्तक्रिया गर्दे टोली

पछिल्लो समय कोरोना भाइरस खाडी मुलुकमा पनि महामारीका रुपमा फैलिन थालेको छ । अहिेलसम्म साउदी अरब, युएई, कतार, कुवेत, बहराइन, ओमनलगातका देशहरुमा यसका संक्रमित बिरामी भेटिएका छन्। खाडी मुलुकहरुले प्रकोपले महामारीको रुप लिन सक्ने सम्भावित जोखिमलाई मध्यनजर गर्दे प्रभावित मुलुकसँग हवाइ उडान बन्द गरिसकेका छन् । सरकारले सबैलाई उच्च सतर्कता अपनाउन भनेका छन्। त्यस्तै सार्वजानिक रुपमा सभा, गोष्ठी, बैठक, खेलकुद प्रतियोगिता लगायतका कार्यक्रमहरु गर्न पूर्ण रोक लगाएका छन्।

साउदीमा नेपाली समुदायसँग अन्तक्रिया गर्दे टोली



प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *