नापीका सेवा अब मोबाइल एपमा

डिसी नेपाल
२४ फागुन २०७६ १९:२४

चिप्लेढुङ्गा । नापी कार्यालय कास्कीले सेवाप्रवाहलाई पारदर्शी र छिटोछरितो बनाउन मोबाइल एप्लिकेशन (एप) सार्वजनिक गरेको छ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री पद्माकुमारी अर्यालले शनिबार यहाँ आयोजित कार्यक्रममा सो एपको सार्वजनिक गर्दै जग्गा प्रशासनको सुधार गर्न प्रविधिलाई अधिकत उपयोगमा ल्याउनुपर्नेमा जोड दिईन् ।

उनले भनिन्, “हिजो प्रविधि थिएन, फित्ता लिएर नाप्दै हिँड्नुपथ्र्यो, धेरै समस्या थिए । अब प्रविधिले यस्ता समस्याका समाधान गरिदिएको छ । अब काम छिटोछरितोसँगै बिचौलियाको अन्त्यसमेत हुनेछ ।”मन्त्री अर्यालले सेवाग्राहीप्रति उत्तरदायी भएर काम गर्न र व्यक्तिगत स्वार्थमा नलाग्न कर्मचारीलाई आग्रह गरिन् ।

कार्यक्रममा नापी विभागका महानिर्देशक प्रकाश जोशीले सुशासन स्थापित गर्न प्रविधिमैत्री रूपबाट अघि बढेको जानकारी दिँदै यस एप देशैभर पु¥याइने बताए । नापी कार्यालयका प्रमुख नापी अधिकृत खिमलाल गौतमले भूमि प्रशासनमा पारदर्शी र सेवाग्राहीमैत्री बनाउन ‘नापी पोखरा एसओकेपी’ मोबाइल एप तयार गरिएको जानकारी दिए । उनले भने “बिचौलियाले कर्मचारीको नाम बेचेर सेवाग्राहीलाई हैरानी दिएका छन् । अब यस एपले बिचौलियाको अन्त्य गर्नेछ । सेवाग्राहीले चाहेको समयमा सेवा लिन पाउनेछन् ।”

सो एपबाट दैनिक सेवाहरु टोकन लिन, फारम भर्न, कित्ताकाट, हालसाविक भिडाउन, नक्सा प्रिन्ट, नक्सा ट्रेस उतार, प्लट रजिष्ट्रर उतार, फिल्ड रेखाङ्कन, क्षेत्रफल ट्रायल चेक, कित्ता एकीकरण जानकारी लिन सकिने छ । एपमा कार्यालयबाट सेवा लिन आवश्यक विभिन्न निवेदनका ढाँचा उपलब्ध छ । कुन सेवा कसरी लिन सकिन्छ त्यसको जानकारी, कार्यालयका सूचना र जानकारी, गुनासो तथा उजुरी गर्ने व्यवस्था र भविष्यमा अनलाइनबाट नै राजश्व तिरी सेवा लिन सकिने व्यवस्था रहेको कार्यक्रममा जानकारी दिइयो ।

नेपालको जग्गा प्रशासनको क्षेत्रमा यस प्रकारको एप पहिलोपटक शुरु गरिएको हो । मालपोत, नापीजस्ता दैनिक सेवा प्रवाह गर्ने सार्वजनिक निकायमा बिचौलियाको सहयोगबिना नै सेवा प्राप्त गर्न सकिन्छ भन्ने सन्देश दिन एप कार्यान्वयनमा ल्याइएको कार्यालयले जनाएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *