माथिल्लो तामाकोशीको जलाशय आज सफा गरिँदै, नदी तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह
काठमाडौं। ४५६ मेगावाट क्षमताको माथिल्लो तामाकोशी जलविद्युत् केन्द्रले आज (शनिबार) बिहान ८ बजेदेखि बेलुका ७ बजेसम्म जलाशयको आकस्मिक फ्लसिङ (बालुवा तथा हिलो सफा गर्ने कार्य) गर्ने भएको छ।
फ्लसिङका क्रममा बाँधको गेट पटक-पटक खोल्ने र बन्द गर्ने गरिने भएकाले तामाकोशी नदीको जलसतहमा अचानक ठुलो उतारचढाव हुन सक्ने केन्द्रले जनाएको छ।
केन्द्रका अनुसार जलाशय सफा गर्ने क्रममा तामाकोशी बाँधको तल्लो तटीय क्षेत्रअन्तर्गत लामाबगर, छेतछेत, गोंगर, जगत, टुनिटार, जामुने, भोर्ले, सिंगटी, नयाँ पुल, किर्ने र खिम्ती हुँदै सुनकोशी नदीको दोभानसम्मको क्षेत्रमा पानीको बहाव उच्च हुनेछ।
सम्भावित जोखिमलाई मध्यनजर गर्दै उक्त अवधिभर नदीमा माछा मार्ने, नुहाउने, पौडी खेल्ने, लुगा धुने, वस्तुभाउ लैजाने, गिटी–बालुवा उत्खनन गर्ने तथा नदीबाट सवारीसाधन वारपार गराउने जस्ता गतिविधि नगर्न केन्द्रले सर्वसाधारणसँग विशेष आग्रह गरेको छ।
त्यसैगरी, नदी किनारमा परम्पराअनुसार गरिने दाहसंस्कार तथा अन्य धार्मिक कार्यहरू गर्नुपर्ने अवस्था आएमा अत्यन्तै सावधानी अपनाउन अनुरोध गरिएको छ। माथिल्लो तामाकोशी जलविद्युत् केन्द्रले नदी आसपासका स्थानीयवासी तथा सरोकारवालाहरूलाई उच्च सतर्कता अपनाउन र जोखिमपूर्ण गतिविधिबाट टाढा रहन अपिल गरेको छ।






डिसी नेपाल





Facebook Comment