रामपुर कृषि क्याम्पस र कृषि विश्वविद्यालयको जग्गा विवाद १५ वर्षपछि सुल्झिने, शिक्षामन्त्रीद्वारा समाधानको प्रतिबद्धता

डिसी नेपाल
२ साउन २०८३ १८:४५

चितवन। शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले चितवनस्थित रामपुर कृषि क्याम्पस र कृषि तथा वन विज्ञान विश्वविद्यालयको विशेष अनुगमन गरेका छन्।

अनुगमनका क्रममा मन्त्री पोखरेलले त्रिभुवन विश्वविद्यालयको आङ्गिक क्याम्पसको रूपमा रहेको रामपुर कृषि क्याम्पस र छुट्टै अस्तित्वमा रहेको कृषि तथा वन विज्ञान विश्वविद्यालयबीच विगत १५ वर्षदेखि बल्झिरहेको जग्गा विवादलाई तार्किक निष्कर्षमा पुर्‍याउने दृढ प्रतिबद्धता व्यक्त गरेका हुन्।

मन्त्री पोखरेलले दुवै संस्थाको समग्र शैक्षिक स्थिति, अनुसन्धान तथा प्रशासनिक गतिविधि, भौतिक पूर्वाधार र प्रयोगशालाहरूको स्थलगत अवलोकन गर्नुका साथै क्याम्पस तथा विश्वविद्यालयका पदाधिकारी, प्राध्यापक, कर्मचारी र स्थानीय सरोकारवालाहरूसँग बृहत् छलफल गरे।

छलफलका क्रममा सरोकारवालाहरूले लामो समयदेखि जारी जग्गा विवादका कारण दुवै प्रतिष्ठित शैक्षिक संस्थाको प्राज्ञिक विकास, भौतिक पूर्वाधार विस्तार तथा दीर्घकालीन योजनाहरू नराम्ररी प्रभावित भइरहेको गुनासो मन्त्रीसमक्ष राखेका थिए।

जवाफमा शिक्षामन्त्री पोखरेलले सरकारले समन्वयात्मक र कानुनी प्रक्रिया अपनाएर यो समस्याको स्थायी समाधान खोज्ने स्पष्ट पारे। उनले कुनै पनि संस्थाको हितमा आँच आउन नदिने र दुवैको शैक्षिक गरिमा सुरक्षित हुने गरी मध्यमार्गी बाटो पहिल्याइने आश्वासन दिए।

यी संस्थाहरू नेपालको कृषि शिक्षा, अनुसन्धान र दक्ष जनशक्ति उत्पादनका मेरुदण्ड भएकाले कसैलाई कमजोर बनाउने खेलमा सरकार नलाग्ने बरु दुवैलाई थप सुदृढ र प्रभावकारी बनाउन राज्यले आवश्यक पहलकदमी लिने उनको भनाइ थियो।

लामो समयदेखि थाती रहेको यो विवाद सरकारको सक्रिय चासो र पहलबाट अन्त्य हुने संकेत देखिएपछि दुवै संस्थाका प्राध्यापक तथा अनुसन्धानकर्ताहरूले अब प्राज्ञिक गतिविधिले नयाँ गति लिने विश्वास व्यक्त गरेका छन्।

उक्त महत्त्वपूर्ण अनुगमन भ्रमणमा मन्त्री पोखरेलसँगै प्रतिनिधि सभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिका सभापति हरि ढकाल, शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिकी सदस्य प्रभा ढकाल एवं शिक्षा मन्त्रीका सल्लाहकारद्वय शैलेन्द्र झा र सरोज गौतमको समेत विशेष उपस्थिति रहेको थियो।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *