घरेलु कामदारका लागि साउदी अरब जोखिम

डिसी नेपाल
२५ फागुन २०७६ १५:२५

साउदी। घरेलु कामदारको अवस्था, समस्या तथा समाधानको लागि चालिनु पर्ने कदमका विषयमा स्थलगत अवलोकन गर्न साउदी पुगेको सरकारी टोलीसँग प्रवासी समन्वय समिति (पिएनसीससी)ले दम्माममा अन्तरक्रिया गरेको छ। प्रतिनिधिसभा अन्तर्गत उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समिति र राष्ट्रिय मानव अधिकार आयोगका प्रतिनिधिसँग अन्तरक्रिया गरेको हो।

सरकारी टोलीसँगै नेपाली राजदूतावास रियादका प्रतिनिधि संलग्न गरी प्रवासी नेपाली समन्वय समितीले साउदी अरबको पूर्वी प्रान्त दम्माममा कृयाशिल नेपाली संघसंस्था एवम् नेपाली जनसमुदायबीच गएको शुक्रबार अन्तरक्रिया कार्यक्रम आयोजना गरेको थियो।

अन्तरक्रियामा गैरआवासीय नेपाली संघ (एनआरएनए) ले नेपालीलाई घरेलु कामदारका रुपमा काम गर्न साउदी अरव जोखिम रहेको भन्दै नपठाउन आग्रह गरेको थियो।

टोलीलाई संघले घरेलु कामदारलाई साउदी अरवको श्रम कानून लागू नहुने हुँदा तलव सुविधाको ग्यारेण्टी नभएको, २० घण्टासम्म काम गर्न बाध्य बनाइने, विदा नदिइने लगायतका समस्या भएको भन्दै घरेलु कामदारका लागि साउदी अरव नपठाउन आग्रह गरेको हो।

छलफलमा सहभागी बिभिन्न संघसंस्थाका प्रतिनिधिहरुले विविध समस्याका कारण यथास्थितिमा साउदी अरबमा घरेलु काममा पठाइनु असुरक्षित रहेको बताएका थिए।

खाडी मुलुकमा घरेलु कामदारको अध्ययनका लागि भन्दै टोली १० दिने भ्रमणमा निस्किएको थियो । टोलीमा प्रतिनिधिसभा उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिका सभापति विमलप्रसाद श्रीवास्तव र सदस्यहरु सांसद भीमसेनदास प्रधान, गोपालबहादुर बम, दुर्गाकुमारी विश्वकर्मा, प्रमोद साह, सूर्यनारायण यादव, संसद सचिवालयका उपसचिवद्वय शिवदत्त बराल र केशवराज सुवेदी पनि भ्रमण टोलीमा छन्। त्यस्तै राष्ट्रिय मानवअधिकार आयोगका सदस्य सुदिप पाठक र शाखा अधिकृत रविलाल नेपाली पनि भम्रण टोलीमा सामेल छन्। ओमन र साउदी अरबको भ्रमण सकाएर टोली अहिले युएइमा छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *