मोटरसाइकल दुर्घटनामा मृत्यु

डिसी नेपाल
२५ फागुन २०७६ १७:५७

भिमदत्त। कञ्चनपुरको पुनर्वास नगरपालिका–८ मा आइतबार मोटरसाइकल दुर्घटनामा परी एक युवकको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी निरीक्षक कृष्णानन्द भट्टले से ४ प ६९६६ नम्बरको मोटरसाइकल र म २ प ५२२ नम्बरको मोटरसाइकल एकापसमा ठोक्किँदा १६ वर्षीय दिनदयाल रानाको उपचारका क्रममा मृत्यु भएको जानकारी दिए।

“मोटरसाइकल दुर्घटनामा परी चार घाइते भएका थिए”, प्रहरी निरीक्षक भट्टले भन्नुभयो, “तीमध्ये एकको मृत्यु भएको खबर आएको छ ।” प्रहरीका अनुसार पुनर्वास बिचफाँटाका १८ वर्षीय धर्मेन्द्र सुनार गम्भीर घाइते भएका छन् भने पुनर्वास–७ का अर्जुन राना र कैलालीको गोदावरी नगरपालिकाका अनिल लामिछाने सामान्य घाइते भएका छन् । घाइते तीनै जनाको सेती प्रादेशिक अस्पताल धनगढीमा उपचार भइरहेको छ ।

शनिबार टिपरको ठक्करबाट बालकको मृत्यु भएको विषयलाई लिएर आइतबार कञ्चनपुरको बेलौरी नगरपालिका कार्यालय स्थानीयले घेराउ गरेका छन् ।

म १ ख ८४९ नम्बरको टिपरले ठक्करबाट बेलौरी नगरपालिका–४ का नौ वर्षीया बालक आकाश रानाको मृत्यु भएको थियो । सोही विषयलाई लिएर आक्रोशित स्थानीयले टिपर चालकलाई कारवाही र मृतकका परिवारलाई क्षतिपूर्तिको माग गर्दै नगरपालिका घेराउ गरेका हुन् ।

स्थानीयले बेलौरी बजारसमेत बन्द गरी यातायातका साधन सञ्चालनमा समेत अवरोध गरेको इलाका प्रहरी कार्यालय बेलौरीले जनाएको छ । बेलौरी क्षेत्रको प्रहरीले सुरक्षा व्यवस्थासमेत कडा पारेको छ । आक्रोशित स्थानीयले टिपरमा आगजनी गरेका छन् । रासस




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *