मिथिला परिक्रमा सम्पन्न

डिसी नेपाल
२६ फागुन २०७६ १८:५८

धनुषा। विश्वको लामो धार्मिक यात्राका रुपमा चिनिएको १५ दिवसीय मिथिला परिक्रमा सोमबार जनकपुरको अन्तरगृह परिक्रमा गर्दै सम्पन्न भएको छ । धनुषाको कचुरीस्थित मिथिलाविहारी मन्दिरबाट फागुन १२ गते शुक्ल औँसीका दिन शुरु मिथिला परिक्रमा धनुषा र महोत्तरीसहित भारत, विहारको विभिन्न स्थान घुम्दै आइतबार साँझ जनकपुर आइपुगेको थियो। सोमबार बिहान जनकपुरको पञ्चकोशी (अन्तरगृह) परिक्रमा गरी यात्रामा सहभागी नेपाल तथा भारतका सम्पूर्ण तीर्थयात्री घर फर्केका छन् ।

सरकारले पर्यटन वर्ष मनाइरहेको बेला मध्यमा परिक्रमाको महत्वलाई राष्ट्रियस्तरमा परिचित गराउन पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले परिक्रमाको शुभारम्भ गरेका थिए। नेपाल र भारतका हजारौँ तीर्थालु सहभागी रहेको परिक्रमा थालनीमा दाहालले मिथिलाविहारी मन्दिरबाट रामको डोला उठाएका थिए। उनले उठाएको डोला साधुसन्तले सम्हाल्दै १५ दिवसीय यात्रा प्रारम्भ भएको थियो ।

हिन्दु धर्मको प्रसिद्ध ग्रन्थ ‘मिथिला महात्म्य’ का अनुसार यो परिक्रमा १८औँ शताब्दीदेखि शुरु भएको भन्न सकिन्छ । जनकपुरस्थित सुन्दर सदनका महन्त नवलकिशोर शरणका अनुसार प्राचीन मिथिलाका राजा जनकको दरबार र आसपास क्षेत्रको परिक्रमा गर्दा पुण्यप्राप्ति हुने विश्वास छ । उनले भने, “मिथिला क्षेत्रका बासिन्दाले मर्नु अघि कम्तीमा एकपटक मध्यमा परिक्रमामा सहभागी हुँदा मरणोपरान्त राम्रो हुने जनविश्वास छ । त्यसैले यो परिक्रमामा वृद्धवृद्धाको सहभागिता बढी हुने गर्दछ ।”

खासगरी रामायणमा वर्णन गरिएबमोजिम राम र सीताले घुमेको प्रसिद्ध धार्मिकस्थलहरूको दर्शन गर्न यो परिक्रमाको थालनी भएको जनकपुरका साधुसन्तहरूको भनाइ छ । हरेक वर्ष फागुन शुक्ल औँसीको दिन शुरु हुने यो परिक्रमा पूर्णिमाको दिन जनकपुरमा अन्तरगृह घुमेर सकिन्छ ।

जनकपुरधामको पिराडी चोक, मिल्स एरिया, भानु चोक, कदम चोक, विषहरा चोक, मुरली चोक, भ्रमरपुरा चोक, ज्ञानकुप हुँदै पुनः पिराडी चोकसम्म आइपुग्दा करिब पाँच किलोमिटर पुग्छ । यो परिक्रमालाई पञ्चकोशी परिक्रमा पनि भनिन्छ । मिथिला मध्यमा परिक्रमामा सहभागी हुन नसक्नेले कम्तीमा अन्तरगृह घुम्नुपर्ने बताइन्छ । जनकपुरको अन्तरगृह परिक्रमा गरेको भोलिपल्ट मात्रै जनकपुरमा होली खेल्ने चलन छ । रासस




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *