खाडीमा कोरोना प्रकोप : यस्तो छ, पछिल्लो विवरण

डिसी नेपाल
२८ फागुन २०७६ १६:२२

काठमाडौँ । नेपालको उत्तरी छिमेकी मुलुक चीनको वुहान प्रान्तबाट फैलिएको नोभेल कोरोना भाइरस (कोभिड–१९) ले अहिले पुरै विश्व जगतमा नै आतंक मच्चाइरहेको छ । यो भाइरसको संक्रमण १ सय २० देशमा पुगिसकेको छ । अहिलेसम्म १ लाख १९ हजार ४ सय ५५ जनामा कोरोनाको संक्रमण देखिएको छ । संक्रमणबाट ज्यान गुमाउनेको संख्या ४ हजार ३ सय २ पुगेको छ । त्यस्तै संक्रमितमध्ये ६६ हजार ५ सय ९४ जना उपचारपछि घर फर्केका छन् ।

कोरोना पछिल्लो समय खाडीमुलुकमा पनि महामारीका रुपमा फैलिन थालेको छ। अहिेलसम्म मध्यपूर्वी सबै देशहरुमा यसका संक्रमित बिरामी भेट्एिका छन्। खाडीमुलुकमा उल्लेख्य संख्यामा नेपालीहरु रोजगारी तथा व्यवसाय गरेर बसेका छन्।

बहराइन

खाडीमा सबैभन्दा बढि संक्रमित बहराइनमा देखिएका छन्। बहराइनको स्वास्थ्य मन्त्रालयका अनुसार अहिलेसम्म १ सय ८९ जनामा यसको संक्रमण देखिएको हो । जसमध्ये ३० जना उपचारपछि निको भएका छन् ।

बुधवार मात्रै बहराइनमा यस हप्ता इरानबाट जहाजमार्फत ल्याइएका ७७ जना नयाँमा यसको संक्रमण देखिएको हो । बहराइनमा १५ हजारदेखि २० हजारको हाराहारीमा नेपाली रोजगारीका लागि पुगेका छन्।

यूएई

बहराइनपछि यूएईमा बढि संक्रमित भएका छन । युएईको स्वास्थ्य मन्त्रालयका अनुसार हालसम्म ७४ जनामा कोरोना भाइरस संक्रमण भएको पुष्टि भएको छ। जसमध्ये १७ जना उपचारपछि निको भएका छन् । २ जनाको अवस्था गम्भिर छ । संक्रमित मध्ये २ जना त्यहाँ काम गर्न गएका नेपाली पनि हुन् । यूएईमा करिब ३ लाख नेपाली कार्यररत छन् ।

कुवेत

कुवेतमा हालसम्म ६९ जनामा कोरोना संक्रमित भेटिएका छन् । जसमध्ये १ जना उपचारपछि निको भएका छन् ।

संक्रमणबाट बच्न कुवेतले पनि उच्च सतर्कता अपनाउँदै आएको छ । हालसम्म कुनै पनि आप्रावासी कामदारमा यसको संक्रमण देखिएको छैन् । कुवेत सरकारले सार्वजानिक कार्यक्रम गर्न पूर्ण रुपमा रोक लगाएको छ । त्यस्तै स्कुल, कलेज समेत बन्द गरेको छ ।

कुवेतमा करिब ७५ हजार देखि ९० हजारको हाराहारीमा नेपालीहरु रोजगारीका लागि पुगेका छन्।

कतार
कतारमा अहिलेसम्म २४ जनामा कोरानाको संक्रमण देखिएको छ । कतारमा भेटिएका बिरामीमध्ये प्रायःजसो इरानको यात्रासँग सम्बन्धित छन् ।
कतारमा झण्डै ४ लाखको हाराहारीमा नेपाली छन् । कतारमा संक्रमित देखिएका २४ जना मध्ये ३ जना आप्रावासी कामदार रहेको बताइएको छ । तर, उनीहरुको राष्ट्रियता बारे केहि खुलाइएको छैन् ।

कोरोना संक्रमणको प्रकोपलाई फैलन नदिन भन्दै कतार सरकारले १४ देशका नागरिकलाई प्रवेश निषेध गरेको छ ।

महामारीको रुप लिन सक्ने सम्भावित जोखिमलाई मध्यनजर गर्दै नेपालसहित, भारत, चीन,इजिप्ट, इरान, इराक,लेबनान, बंगलादेश, पाकिस्तान, फिलिपिन्स, दक्षिण कोरिया, श्रीलंका, सिरिया र थाइल्यान्डका नागरिकलाई अस्थायी रूपमा प्रवेशमा रोक लगाएको छ । त्यस्तै स्कुल, कलेजहरु पनि बन्द गराएको छ ।

साउदी अरब

साउदी अरबमा २० जनामा यसको संक्रमण देखिएको साउदीको स्वास्थय मन्त्रालयले जनाएको छ ।

कोरानाले उग्ररुप लिन थालेपछि त्यहाँको सरकारले उच्च सतर्कता अपनाउन थालेको छ। संक्रमणको प्रकोपलाई फैलन नदिन सरकारले प्रभावित मुलुकबाट आउने उडानहरुमा समेत प्रतिवन्ध लगाएको छ।

साउदीमा पनि उल्लेख्य संख्यामा नेपालीहरु काम गरिरहेका छन् । रियादस्थित नेपाली दूतावासले विभिन्न माध्यमबाट त्यहाँ रहेका नेपालीलाई सतर्कता अपनाउन आग्रह गरिरहेको छ ।

ओमन

ओमनमा हालसम्म १८ जनामा यसको संक्रमण भेटिएको छ। ओमनको स्वास्थ्य मन्त्रालयका अनुसार कोरोना पोजेटिभ देखिएका व्यक्तिहरु इरानको यात्रा गरेर फर्केका थिए । संक्रमित मध्ये ९ जना उपचारपछि पूर्ण रुपमा निको भएको मन्त्रालयको भनाइ छ ।

त्यस्तै केहि संकास्पद विरामीकाे विशेष निगरानीमा उपचार भैरहेको छ । ओमनमा करिब २० हजार नेपाली कार्यरत छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *