बेहुलाको उमेर नपुगेपछि बाटोबाटै फर्किए जन्ती

डिसी नेपाल
२ चैत २०७६ १४:२०

सुर्खेत। सल्यानमा बेहुली लिन आएका जन्ती बेहुलाको उमेर कम भएको जानकारी पाएपछि आधा बाटो बाटै फर्किएका छन्। रोल्पाको गंगादेव गाउँपालिकाबाट सल्यानको दार्मा गाउँपालिकामा बेहुली लिन आएका जन्ती बेहुलाको उमेर नपुगेका कारण आधा बाटो बाटै फिर्ता भएका हुन्।

बेहुली लिन करिब ४५ जना जन्तीसहित बस सल्यान प्रवेश गरेको थियो। ‘प्रहरीलाई बेहुलाको विवाह गर्ने उमेर नपुगेको खबर आयो,’ जिल्ला प्रहरी कार्यालय सल्यानका निमित्त प्रहरी प्रमुख इन्स्पेक्टर लक्ष्मण वलीले भने, ‘प्रहरीले सोधपुछ गर्दा साँच्चै नै बेहुलाको उमेर पुगेको रहेनछ।’ बेहुलाको उमेर नपुगेको थाहा पाए पछि प्रहरीले जन्तीलाई बाटोबाटै फिर्ता पठाएको थियो।

‘बेहुलीको उमेर २० वर्ष पूरा भएर २१ लागेको रहेछ तर बेहुलाको उमेर भने २० वर्ष पुग्न अझै तीन महिना बाँकी रहेको पाइयो,’ इन्स्पेक्टर वलीले भने, ‘त्यसैले बाटो बाटै जन्ती बोकेको बस फर्काएका हौँ।’ उनले उमेर नपुगेको विवाह भएपछि कारबाही गर्न ुभन्दा अगाडि नै विवाह रोकेर ठूलो दुर्घटनाबाट रोकेको बताए।

बालविवाह गरे वा गराए वा संलग्न भएको खण्डमा दुलाहा, बेहुलीसहित संलग्नलाई समेत तीन वर्ष कैद वा ३० हजार जरिवाना अथवा दुवै सजाय हुन सक्ने कानुनी व्यवस्था छ । पछिल्लो समय सल्यानमा बाल विवाह न्यूनीकरण अभियान सञ्चालन गरेको प्रहरीलाई स्थानीय तह, मानव अधिकारकर्मी, स्थानीयलगायतले साथ दिँदै आएको छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *