अष्ट्रेलियामा कांग्रेसीहरुबीच भाँडभैलो

डिसी नेपाल
२ चैत २०७६ २२:३६

अष्ट्रेलिया । नेपाली काग्रेस अष्ट्रेलियाको बिवाद छताछुल्ल भएको छ । अधिवेशन तयारी समितिका संयोजक जग्गनाथ (कृष्ण) गिरीले मुलसमितिको गठन नभई एकैपटक उपसमिति गठनगरि सामाजिक सन्जालबाट सार्वजनिक गरेपछि बिवादले उग्ररुप लिएको हो ।
न्यू साउथवेल्सका जनसम्पर्क समिति अध्यक्ष इथान(थानु) साक्यले भने ‘सवैभन्दा हास्यास्पद र आश्चर्यचकित विषय त केन्द्रीय नेताहरुको उपस्थितिमा गिरी सहितको १५ सदस्यीय अधिवेशन मुल समिति गठन गर्ने र सो समितिको निर्णयवाट विभिन्न उपसमितिहरु गठन गर्ने भन्ने थियो। तर, मुलसमिति गठन नभई एकैपटक उपसमिति गठन हुनु दुखद हो ।’

केन्द्रीय नेताको रोहवरमा भएको सहमतिलाई लत्याउदै गिरीले एकतर्फी ढंगले जनसम्पर्क समितिको लेटरप्याडमा अधिवेशन तयारी उप–समिति गठन गरेका छन् । उनले उपसमिति गठन गरेको सार्वजनिक गरेपछि नेपाली कांग्रेसप्रति आस्थावान अष्ट्रेलियाका अधिकांश नेता कार्यकर्ता रुष्ट बनेका हुन् ।

केहि दिन अघि भाइवर समूहमार्फत सार्वजनिक गरिएको विभिन्न उपसमितिमा अन्तरराज्य अधिवेशन तयारी समितिका संयोजक र सदस्यका नामहरु तोकिएको प्रति आठवटै राज्य समितिका अध्यक्षहरुले एकै स्वरमा विरोध गर्दै प्रेस विज्ञप्ति निकालेका छन्।

विज्ञप्तिमा भनिएको छ, ‘गिरीले कसैसँग सर–सल्लाह नगरी, अनुमति विना मनपरी ढंगले समिति गठनको नाममा हाम्रा साथीहरूको नाम राखेर मानमर्दन गरेकोले हाम्रो ध्यानाकर्षण भएको छ । यसमा हाम्रो आपत्ती र असहमति छ भन्ने कुरा जानकारी गराउन चाहन्छौं ।’

अधिकांशभन्दा बढी सदस्यहरूको भावनाको कदर नभएको भन्दै गिरीलाई नेता मान्न नसकिने अडानमा रहेका अस्ट्रेलियाका ८ वटै राज्यमा कार्यरत जनसम्पर्क समितिको संयुक्त विज्ञप्तिमा गिरीले केन्द्रिय प्रतिनिधिको निर्णय र निर्देशनको समेत अवज्ञा गरी मानमर्दन गरेको उल्लेख छ । केन्द्रले दिएको निर्देशन र तोकेको समयावधि सकिदै जाँदा अधिवेशन सम्पन्न गर्ने कार्यमा कुनै प्रगति हुन नसकेपछि केन्द्रलाई भ्रमित पार्न जनसम्पर्क समितिको नाममा जथाभावी नाम राखेर तयारी समितिको घोषणा गरिएको विज्ञप्तिमा आरोप छ।

भिक्टोरिया अध्यक्ष विनित शर्माका अनुसार संगठनभित्र विवाद सिर्जना गराउने र सुटुक्क महाधिवेशन प्रतिनिधि लैजाने खेलमा गिरी लागेका हुन् । विभिन्न उपसमितिमा संयोजक र सदस्यका नामावलीमा परेका अधिकांशले आफ्नो सहमति बेगर नाम समावेश गरेकाले नाम हटाउन सामाजिक सन्जाल र ब्यक्तिगत सम्पर्कवाट आग्रह गरिरहेका छन्। जनसम्पर्क समिति डार्बिनका अध्यक्ष सविन बरालले संयोजक गिरी एकलौटी तवरले अगाडी वढ्न खोजेकोले उपसमिति गठन प्रकृयामा जनसम्पर्क समिति डार्वीनको पूर्ण असहमति रहेको बताए।

गत जनवरी १९ मा केन्द्रीय सदस्य एनपी सावद र नेपाल विद्यार्थी संघका पूर्व महामन्त्री सरोज थापाको रोहवरमा जनसम्पर्क समिति अधिवेशन तयारीका लागि कृष्ण गिरी,देवेन्द्र वस्नेत र अभिमन्यू केसी सदस्य रहेको तीन सदस्य समिति गठन गरिएको थिया े।

सोही समितिले गिरिको संयोजकत्वमा १५ सदस्यीय अधिवेशन मुल तयारी समिति गठन गर्ने र सो तयारी समितिका सदस्यहरुको नामावली स्विकृतिका लागि केन्द्रीय समितिमा पठाउने निर्णय भएको थियो।

स्रोतका अनुसार,गिरिले तयारी समिति गठनका लागि आवश्यक गृहकार्य गर्न समितिका सदस्य वस्नेत र केसीसंग सरसल्लाह नगरिएको वुझिएको छ।

जनसम्पर्क समिति न्यू साउथवेल्स, जनसम्पर्क समिति मेलवर्न, जनसम्पर्क समिति क्वीन्सल्याण्ड, जनसम्पर्क समिति साउथ अस्ट्रेलिया, जनसम्पर्क समिति नर्दन टेरोटोरी, जनसम्पर्क समिति क्यानवरा, जनसम्पर्क समिति वेष्टर्न अस्ट्रेलिया, जनसम्पर्क समिति तास्मनियाका अध्यक्षहरूले संयुक्त विज्ञप्ति प्रकाशित गर्दै गिरीको कदमको विरोध गरेका हुन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *