टीकापुरलाई नियाल्न भ्यूटावरसहितको घण्टाघर तयार हुँदै

डिसी नेपाल
४ चैत २०७६ १०:३५

कैलाली । कैलालीको टीकापुरमा भ्यूटावरसहितको घण्टाघर निर्माण भइरहेको छ। निर्माण कम्पनीका अनुसार अहिलेसम्म ७० प्रतिशत काम भइसकेको छ।

नेपाल सरकारको सघन शहरी विकास कार्यक्रमबाट रु तीन करोड २६ लाख ४२ हजार २६६ लागतमा सो निर्माण जारी रहेको टीकापुर नगरपालिकाले जनाएको छ।

घण्टाघरको उचाइ २८ मिटर हुने र हालसम्म १८ मिटर सम्पन्न भइसकेको छ । योसँगै प्रवेशद्वार, सुरक्षागार्ड चौकी, शौचालय, टिकट काउण्टर निर्माण भइरहेका रोयल प्रशंसा जेभीका प्रमुख दीर्घराज जोशीले जानकारी दिए।

अठार महिनाभित्र काम सक्ने गरी विसं २०७५ फागुन १९ गते सो ठेक्का सम्झौता भइ काम शुरु भएको थियो।

२०७७ भदौ २५ भित्र सक्ने गरी काम भइरहेको उनले बताए । “कैलालीमा यस वर्ष हिउँदमा पानी परेका कारण इँटाको समस्या छ।

समयमै इँटा नपाएका कारण काममा केही ढिलाइ भयो, तर हामी समयमै सक्ने गरी काम गरिरहेका छौँ”, प्रमुख जोशीले भने । भ्यूटावरसहितको घण्टाघरले टीकापुरलाई नियाल्न सजिलो हुने स्थानीय बलबहादुर विष्ट बताउँछन् ।

“घण्टाघर निर्माणपछि यहाँ पर्यटकीय गतिविधि बढ्नेछन्, यस्ता ठूला संरचना बनेमा टीकापुरको विकाससँगसँगै पर्यटक भित्रिने आधार बन्छ।”

यहाँ छ लेनको सडक कालोपत्र, ब्लक ‘ए’ का सबै सडक कालोपत्र र व्यवस्थित बसपार्क निर्माण भइरहेका छन्।

“भौतिक संरचना बनाउँदा ती संरचनाको दिगोपनामा ध्यान दिनुपर्छ”, टीकापुर नगरपालिकाका प्रमुख तपेन्द्रबहादुर रावल भन्छन्, “यसका लागि त्यसमा प्रयोेग गरिने सामग्रीको गुणस्तर र प्राविधिक पक्षमा निगरानी गरिरहेका छौँ। सहज वातारणमा संरचना निर्माणका लागि सहयोग गरेका छौँ।” रासस




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *