‘इटालीमा नेपालीलाई खाद्यन्न अभाव भए हामीलाई भन्नुहोस’

डिसी नेपाल
५ चैत २०७६ १८:३८

काठमाडौँ। कोरोना भाइरसको प्रकोप बढेको युरोपेली मुलुक इटालीमा रहेका केही नेपाली युवाहरुले त्यहाँ समस्यामा परेका नेपालीहरुलाई सहयोग गर्ने अभियान शुरु गरेका छन्।

कोरोनाको प्रकोप महामारीका रुपमा फैलिएपछि इटालीमा लक डाउन गरिँदा बाहिर निस्कन नपाउँदा खाद्यन्नको अभाव हुनसक्ने भन्दै केही नेपाली युवाहरुले अवैध रुपमा र कामबिहीन नेपालीलाई आवश्यक सहयोग गर्न लागेका हुन्।नेपाली समाज रोमका अध्यक्षसमेत रहेका चितवनका हरिभक्त काराखेतीले काम् नभएका तथा वेरोजगारी नेपालीका लागि खाद्य सामग्रीको व्यवस्था गरिदिने बताए।

‘कोरोना संक्रमणको त्रासका कारण बाहिर निस्किन हिड्न डुल्न समेत कठिनाई भैरहेको छ। यस्तो बेलामा यहाँको कागजात नहुने नेपाली दाजुभाई दिदीबहिनीहरुलाई झन धेरै अप्ठ्यारो परेको हुनसक्छ’, काराखेती भन्छन्, ‘कतिपय कोरोनाको महामारी आउनु अगाडिदेखि नै बेरोजगार हुनुहुन्छ। रोममा रहेका त्यस्ता दाजुभाइ दिदीबहिनीहरुका लागि एउटा सानो सहयोग स्वरुप दैनिक उपभोग्य खाद्य सामाग्रीको बन्दोबस्त गरिदिन चाहान्छु।’

उनले त्यस्तो अवस्थामा रहेका दाजुभाइले ३२९१४८५११७ नम्बरमा सम्पर्क गर्न र आफ्नो ठेगाना पनि दिन पनि अनुरोध गरेका छन्। ‘म आफै तपाईंहरुको घर अगाडि आइपुग्ने प्रयास गर्नेछु। कुनै अप्ठ्यारो नमान्नुहोस तपाईंहरुको परिचय नितान्त गोप्य रहने छ,’ उनले भनेका छन्।

त्यस्तै लेनियानोमा बस्ने अर्का दुई नेपाली युवाले पनि सोही किसिमको अभियानमा हातेमालो गर्न आफूहरु तयार रहेको बताएका छन्। चितवनका बिजय भुसाल र पर्वतका अजय शर्मा मिलेर मिलान र भारेसेमा बस्ने नेपालीहरुलाई सहयोग गर्ने बताएका हुन्।

‘जो बिना डकुमेन्ट र काम नभएका नेपाली हुनुहुन्छ, उहाँहरुका लागि दैनिक उपभोग्य खाद्यान्न सहयोग गर्ने भएका छौं’, चितवनका भुसाल भन्छन्, ‘जसरी रोममा हरि काराखेतीले सहयोग गर्ने काम शुरु गर्नु भएको छ। हामी पनि उहाँको जस्तै अभियानमा हातेमालो गर्न तयार छौँ।’

उनले समस्यामा रहेका नेपालीहरुलाई आफूहरुसँग सम्पर्कमा आउन आग्रह गरेका छन् । त्यस्तै अभियानमा मिलेर सहयोग गर्न चाहाने नेपालीहरुलाई हातेमालो गर्न आह्वानसमेत गरेका छन्। उनले ३२७६१३१४९७ र ३८९००१२१५२ नम्बरमा सम्पर्क गर्न भनेका छन्।

रोजगारीको लागि आकर्षक गन्तव्य मानिने इटालीमा कैयौँ नेपाली पुगेका छन्। त्यहाँ कति नेपाली छन् भने आधिकारिक तथ्याङ छैन । इटाली मामिला स्वीजरल्याण्डको जेनेभामा रहेको दूतावासले हेर्छ। जेनेभास्थित नेपाली दूतावासका अनुसार त्यहाँ करिब १ हजार ४ सय नेपाली छन्। तर, त्यहाँ रहेको गैरआवासीय नेपाली संघको अनुमानमा करिब २ हजार ५ सयको हारहारीमा इटालीमा नेपालीहरु छन्। इटालीमा तस्करहरुको माध्यमबाट अवैध रुपमा पनि नेपाली पुगेको हुनाले यकिन तथ्याङ छैन।

लक डाउनपछि त्यहाँ रहेका नेपालीको जनजीवन पनि पूर्णरुपमा प्रभावित भएको छ। इटाली सरकारले अति अत्यावश्यक काममा बाहेक बाहिर निस्कन पूर्णरुपमा प्रतिबन्ध लगाएको एनआरएनए एनसीसी इटालीले जनाएको छ ।

खाद्यन्न र औषधीलगायतका अति अत्यावश्यक समान खरिद गर्न मात्रै बाहिर निस्कन पाइन्छ । तर, बाहिर निस्किंदा अनिवार्य रुपमा अनुमति लिएर जानुपर्दछ। अनुमति लिन अनलाइनमै फारामहरु उपलब्ध गराइएको छ।  अहिले कागजात नभएका नेपाली मारमा परेका छन्। जुन अवैधानिक किसिमबाट त्यहाँ पुगेका थिए। उनीहरु बाहिर निस्केर अनुमती बनाउन कठिन छ।

चीनको वुहानबाट सुरु भएको प्राणघातक भाइरस नोभेल कोरोना (कोभिड–१९) ले अहिले पुरै विश्वभर नै आतंक मच्चाइरहेको छ । पछिल्लो समय चीनमा संकट नियन्त्रणमा आउन थालेको छ।तर, युरोपमा भने तीव्र गतिमा संक्रमण फैलिरहेको छ।

यो भाइरसले युरोपको सबैभन्दा बढि इटालीलाई सताएको छ। कोरोनाको महामारीबाट इटलीमा मंगलबार मात्रै ३ सय ४५ जनाको ज्यान गएको छ। यो सँगै इटलीमा कोरोनाको संक्रमणबाट ज्यान गुमाउनेको संख्या २ हजार ५ सय ३ पुगेको छ।

बुधबार बिहानसम्म इटलीमा कोरोना संक्रमितको संख्या ३१ हजार ५ सय ६ पुगेको छ। जसमध्ये मंगलबार मात्रै ३ हजार ५ सय २६ जना नयाँ संक्रमित थपिएका थिए।

विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)का अनुसार, चीनमा भन्दा इटालीमा मृत्युदर बढेको छ। चीनमा कोरोना भाइरस फैलिएको चार महिना भएको छ। तर, इटालीमा एक महिनामै चीनकै हाराहारीमा सर्वसाधारणले ज्यान गुमाएका छन्।

कोरोनाले उग्ररुप लिएपछि इटाली पुरै लकडाउन छ। सरकारले इटली भरी मानिसहरूको आउजाउमा प्रतिबन्ध लगाएको छ। त्यहाँ खाद्यान्न र औषधि पसलबाहेक अन्य सबै व्यावसायिक केन्द्र बन्द छन्। विद्यालय, व्यायामशाला, संग्राहालय, रात्रि क्लब र अन्य स्थान त्यसअघि नै बन्द गरिएको थियो। सबैलाई घर भित्रै सेल्फ क्वारेन्टाइनमा बस्न भनिएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *