कोभिड–१९ विषयमा सर्वोच्च अदालतमा पूर्ण बैठक

डिसी नेपाल
७ चैत २०७६ १२:०१

काठमाडाैं। सर्वोच्च अदालतमा विश्वभरि नै फैलिरहेको कोभिड–१९ को सम्भावित सङ्क्रमणबाट बच्च अतिआवश्यक सेवा मात्र सञ्चालन गर्ने वा बन्द गर्ने विषयमा छलफल गर्न पूर्ण बैठक शुरु भएको छ।

अदालतका सूचना अधिकारी देवेन्द्र ढकालका अनुसार कोरोना भाइरसको सम्भावित सङ्क्रमण न्यूनीकरण गर्न उपायका बारेमा प्रधानन्यायाधीशसहित सम्पूर्ण न्यायाधीशको पूर्ण बैठक शुरु भएको हो। अदालतले मुद्दाको सुनुवाइ बन्द गरी आज पूर्ण बैठक बस्नेबारे यही चैत ५ गते निर्णय गरेको थियो।

नेपाल बार एशोसिएसनले विश्वभरि नै कोभिड–१९ फैलिरहेका अवस्थामा अत्यावश्यक कामबाहेक अन्य सेवा प्रवाह नगर्ने निर्णय गर्न अदालतसमक्ष आग्रह गरेको थियो।

बारले यही चैत ४ प्रेस विज्ञप्तिमार्फत मानव स्वास्थ्य जस्तो संवेदनशील विषयमा गम्भीर भई कम्तीमा एक महिना सेवा प्रवाहमा कटौती गर्न आग्रह गरेको थियो।

अदालतले नियमित परीक्षण गरेर मात्र सेवा प्रवाह गर्न शुरु गर्ने व्यवस्था मिलाउनुपर्ने वा उक्त व्यवस्था गर्न नसकिएमा बन्दीप्रत्यक्षीकरणको अत्यावश्यकबाहेक सेवा प्रवाह नगर्ने निर्णय गर्न बारले आग्रह गरेको हो।

अदालतमा धेरै सेवाग्राहीको भीडभाड हुने कोरोनाको सङ्क्रमणको सम्भावना हुने हुँदा सङ्क्रमणको सम्भावना न्यूनीकरण गर्न माग गरिएको थियो। सर्वोच्च अदालत बार एशोसिएसनले यही चैत ४ गते नै आकस्मिक बैठक बसी कोरोना भाइरसको जोखिमलाई ध्यानमा राखी कम्तीमा तीन हप्ताका लागि अदालत बन्द गर्ने व्यवस्था मिलाउन अनुरोध गरेको थियो। रासस


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *