यात्रुसँग बढी भाडा लिने १७ जना पक्राउ
काठमाडौँ । सार्वजनिक सवारीहरूमा बढी भाडा लिने १७ जना व्यक्तिहरूलाई प्रहरीले पक्राउ गरेको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाले यात्रुहरुसँग बढी भाडा लिने व्यक्तिहरुलाई शनिबार पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा डेबिट गुरुङ, कपिल श्रेष्ठ, नरेन्द्र संग्रौला, प्रकाश भट्ट, रमेश खड्का, जार बहादुर गुरुङ, बिजय गुरुङ, प्रभुराम राउत, प्रजय राई, बिजय तामाङ, निल बुढाथोकी, संजिब भण्डारी, प्रदिप लामा, कृष्ण माझी, बिनोद ठकुरी, पिन्टु जसवाल र कमल श्रेष्ठ रहेका छन् । महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक भीमप्रसाद ढकालले सादा पोशाकमै ट्राफिक प्रहरी खटाएर बढी भाडा लिने विरुद्ध कारवाही चलाएको जानकारी दिए । उनले यात्रु ठगीका घटना रोक्न विशेष अभियान चलाएको बताए ।
प्रहरीले आफैँ यात्रु बनेर निगरानी गर्ने, हिँड्न लागेको गाडीका यात्रुसँग जानकारी लिएर कारवाही गर्ने र यात्रु बस्ने लाइनमा बसेर फलानो ठाउँ जाने भनी टिकट मागेर अडियो भिडियो रेकर्ड गरी उनीहरुलाई कारवाहीको दायरामा ल्याउने गरेको छ ।
यसका लागि महानगरीय ट्राफिक प्रहरी महाशाखाले पीडित सहायता इकाईबाट सादा पोशाकमा ट्राफिक प्रहरीको टोलीलाई परिचालन गरेको छ ।महाशाखाका प्रवक्ता प्रहरी उपरीक्षक जिवन कुमार श्रेष्ठले सर्वसाधारणको रुपमा यात्रु बनेर बढी भाडा लिनेलाई पक्राउ गर्ने गरिएको बताए । उनीहरुले गाडी चढ्न अघि कतिपय यात्रुलाई कन्भिन्स गरेर पैसा ठग्ने गरेको र कतिपयलाई बढी भाडा नतिरे नलैजाने गरेको पाइएको छ।
पक्राउ पर्ने व्यक्तिहरूलाई आवश्यक कारवाहीका लागि महानगरीय प्रहरी वृत्तहरूमा बुझाएको छ । यस्तै ट्राफिक महाशाखाले चैत्र ७ गते पनि ९ जना व्यक्तिलाई पक्राउ गरि आवश्यक कारवाहीको लागी प्रहरी वृत्तहरूमा बुझाएको थियो ।
No ads found for this position

डिसी नेपाल
Facebook Comment