राप्तीमा छाडियो ५० गोही

डिसी नेपाल
९ चैत २०७६ १८:३१

चितवन । राप्ती नदीमा ५० वटा गोही छाडिएको छ । चितवन राष्ट्रिय निकुञ्जको मुख्य कार्यालय कसरा नजिकै राप्ती नदीमा गोही छाडिएको हो । गत वर्ष सोही क्षेत्रबाट १०० गोही छाडिएको थियो ।

निकुञ्जका सहायक संरक्षण अधिकृत वेदबहादुर खड्काका अनुसार विश्वबाटै लोप हुन लागेको घडियाल गोहीलाई निकुञ्जको कसरामा रहेको प्रजनन् केन्द्रमा हुर्काएर हरेक वर्ष नदीहरुमा छाड्ने गरिएको छ । यस वर्ष राप्तीमा छाडिएकासहित विभिन्न नदीमा हालसम्म एक हजार ५१५ गोही छाडिसकिएको छ । तीमध्ये राप्तीमा मात्र ८३५ गोही छाडिएको उनले जानकारी दिए ।

निकुञ्जका अनुसार नारायणी नदीमा ३९९, कालीगण्डकीमा ३५, सप्तकोशीमा ९५, कर्णालीमा ४१ र बबईमा ११० गोही छोडिसकिएको छ । पछिल्ला वर्षहरुमा राप्तीमा मात्रै गोही छाडिने गरिएको छ । नदीहरुमा गोही छोड्दै गए पनि सङ्ख्या बढ्दै जान भने सकेको छैन । पछिल्लो गणना अनुसार राप्तीमा ११८ र नारायणीमा १०१ गोही छन् ।

सन् १९७८ मा प्रजनन् केन्द्र स्थापना भएपछि गोहीका बच्चा हुर्काएर सन् १९८१ बाट नदीमा छोड्न थालिएको हो । नदी प्रदूषण बन्दै जाँदा सङ्कटापन्न अवस्थामा रहेको घडियाल संरक्षणमा चुनौती थपिँदै गएको छ । हरेक वर्ष राप्ती र नारायणी नदी किनारबाट गोहीको अण्डा सङ्कलन गरी प्रजनन् केन्द्रमा कोरलेर हुर्काउने गरिन्छ ।

तिनै गोहीलाई हुर्काएर नदीमा छोडिन्छ । पाँच देखि छ वर्ष सम्मका गोही नदीमा छाड्ने गरिन्छ । हाल प्रजनन् केन्द्रमा माउ र बच्चाहरु गरेर ५०० हाराहारी रहेको खड्काको भनाइ छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *