असोज ९ देखि ११ गतेसम्म भारी वर्षाको सम्भावना

डिसी नेपाल
६ असोज २०८३ १४:०४

काठमाडौं।  बागमती प्रदेश सरकारको आन्तरिक मामिला, कानुन तथा सहकारी मन्त्रालयले आगामी असोज ९ देखि ११ गतेसम्म प्रदेशका विभिन्न स्थानमा भारी वर्षाको सम्भावना रहेकाले उच्च सतर्कता अपनाउन नागरिकलाई आग्रह गरेको छ।

मन्त्रालयले सोमबार सार्वजनिक सूचना जारी गरी सम्भावित जोखिमलाई ध्यानमा राख्दै आवश्यक सावधानी र पूर्वतयारी अपनाउन अनुरोधसमेत गरेको उनले बताए।

जल तथा मौसम विज्ञान विभागका अनुसार उक्त अवधिमा बागमती प्रदेशका विभिन्न स्थानमा मेघगर्जन, चट्याङ र हावाहुरीसहित भारी वर्षाको सम्भावना रहेको मन्त्रालयले उल्लेख गरेको छ।

मन्त्रालयका अनुसार भारी वर्षाका कारण नदी तथा खोलामा पानीको सतह बढ्ने तथा आकस्मिक बाढी, पहिरो र डुबान हुनसक्ने जोखिम रहेको छ।

वर्षाका कारण सडक तथा हवाई यातायातसमेत प्रभावित हुन सक्ने भएकाले यात्रा गर्नुअघि सडक र मौसमको अवस्थाबारे जानकारी लिन आग्रह गरिएको उनले बताए।

मन्त्रालयले नदी तथा खोला किनार, पहिरो जोखिम भएका भूभाग, भिरालो जमिन र डुबान हुन सक्ने क्षेत्रमा बसोबास गर्ने नागरिकलाई विशेष सावधानी अपनाउन अनुरोध गरेको उनले बताए।

जोखिमको संकेत देखिएमा समयमै नजिकको सुरक्षित स्थानमा जान तथा स्थानीय तह र सुरक्षा निकायसँग समन्वय गर्न सुझाव दिइएको उनले जानकारी दिए।

त्यस्तै अति आवश्यक अवस्थामा बाहेक लामो दूरी तथा रातिको समयमा यात्रा नगर्न, बालबालिका, ज्येष्ठ नागरिक, अपांगता भएका व्यक्ति, गर्भवती तथा बिरामी व्यक्तिको सुरक्षामा विशेष ध्यान दिन मन्त्रालयले आग्रह गरेको उनले बताए। पशुचौपाया, खाद्यान्न, औषधि, महत्त्वपूर्ण कागजात र अन्य आवश्यक सामग्री सुरक्षित स्थानमा राख्नसमेत अनुरोध गरिएको उनले उल्लेख गरे।

प्रदेश सरकारका सम्बन्धित निकाय, स्थानीय तह, सुरक्षा निकाय, स्वयंसेवक तथा अन्य सरोकारवालालाई आवश्यक पूर्वतयारीसहित सतर्क अवस्थामा रहन निर्देशन दिइएको उनले बताए। जोखिममा रहेका नागरिकलाई आवश्यकताअनुसार समयमै सुरक्षित स्थानमा स्थानान्तरण गर्ने तयारी मिलाउन पनि भनिएको उनले जानकारी दिए।

मन्त्रालयले जल तथा मौसम विज्ञान विभाग, संघीय सरकार, प्रदेश सरकार, स्थानीय तह तथा सुरक्षा निकायबाट जारी हुने आधिकारिक पूर्वानुमान, पूर्वसूचना र चेतावनी नियमित रूपमा हेर्न तथा सम्बन्धित निकायको निर्देशन पालना गर्न सबैमा अनुरोध गरेको उनले बताए।

वर्षा तथा बाढीबारे आवश्यक जानकारी लिन ११५५, विपद् सहायता १२३४, नेपाल प्रहरीको १०० र सशस्त्र प्रहरी बल, नेपालको १११४ नम्बर तथा मन्त्रालयगत विपद् सम्पर्क व्यक्तिको मोबाइल नम्बर ९७६९७६१२१४ मा सम्पर्क गर्न सकिने मन्त्रालयले जनाएको उनले बताए।

मन्त्रालयले आधिकारिक सूचनालाई मात्र आधार बनाउन र अफवाहमा विश्वास नगर्नसमेत प्रदेशवासीलाई आग्रह गरेको उनले उल्लेख गरे।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *