यती एयरलाइन्सले घटायो टिकटको मूल्य

डिसी नेपाल
९ चैत २०७६ २१:०६

काठमाडौं । आन्तरिक उडानको अग्रणी वायु सेवा प्रदायक कम्पनी यती एयरलाइन्सले आफ्नो उडानमा टिकटको मूल्य घटाएको छ । कोभिड–१९ को सम्भावित सङ्क्रमणको प्रभावले काठमाडौँबाहिर जाने यात्रुको सहजताका लागि विभिन्न गन्तव्यको टिकटको मूल्य सस्तो बनाइएको कम्पनीले आज विज्ञप्तिमार्फत जनाएको हो । यतीले भद्रपुर, विराटनगर, भैरहवा, नेपालगञ्ज र पोखराका लागि हवाई टिकटको मूल्य घटाएको छ ।

नयाँ भाडादरअनुरुप यतीले भद्रपुर गन्तव्यका लागि रु ६ हजार २०० नयाँ टिकट दर कायम गरेको छ । यसअघि कम्पनीले यो गन्तव्यमा रु नौ हजार भाडा लिन्थ्यो । विराटनगरमा साधारण रु सात हजार ४५० रहेकामा अहिले घटाएर रु पाँच हजार ५०० बनाइएको छ । त्यस्तै भैरहवाको पहिला रु छ हजार १०० रहेकामा अहिले रु चार हजार ९००, नेपालगञ्जमा पहिला रु नौ हजार ८५० रहेकामा अहिले रु छ हजार ३०० र पोखरामा साधारण रु पाँच हजारबाट घटाएर रु तीन हजार ७०० निर्धारण गरिएको छ ।

उल्लिखित गन्तव्यबाहेक पनि न्यूनतम मूल्यका टिकटहरु खरिद प्राथमिकताका आधारमा उपलब्ध रहिरहने कम्पनीले जनाएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, वायु सेवा सञ्चालक सङ्घ र सर्वसाधरणको अनुरोधमा लामो दूरीका सवारीसाधन सञ्चालनमा नआउँदासम्मका लागि टिकटको मूल्य सस्तो बनाइएको र यो भाडादर सोमबारदेखि लागू हुने विज्ञप्तिमा भनिएको छ ।




प्रतिक्रिया

One thought on “यती एयरलाइन्सले घटायो टिकटको मूल्य

  1. बढी भाडा लिएर टिकट बेच्ने २० जनालाई प्रहरीले आज कारवाही गरेको छ ।
    बढी भाडा लिने एयरलाइन्स लाई अनुरोध गर्ने !!
    Wah wah !!

Leave a Reply

Your email address will not be published. Required fields are marked *