हेटौँडा अस्पतालमा कोरोना बिरामीका लागि बहिरङ्ग कक्ष सञ्चालन

डिसी नेपाल
९ चैत २०७६ २१:५८

हेटौँडा । कोभिड–१९ को सङ्क्रमणको शङ्कास्पद बिरामीलाई हेटौँडा अस्पतालले आजदेखि छुट्टाछुट्टै बहिरङ्ग कक्ष सञ्चालनमा ल्याएको छ । अस्पतालको बहिरङ्ग कक्षमा प्रथम चरण बिहान ९ देखि दिउँसो १ बजेसम्म र दिउँसो २ देखि ५ बजेसम्म ओपिडीमा छुट्टाछुट्टै बिरामीलाई उपचार सेवा दिइएको अस्पताल विकास समितिका अध्यक्ष प्रकाश पौडेलले बताए ।

उक्त अस्पतालको दुवै चरणको बहिरङ्ग कक्षमा विशेषज्ञ चिकित्सक, स्वास्थ्यकर्मी, प्रयोगशाला, एक्स–रे सेवा र भिडियो एक्स–रे सेवाहरु उपलब्ध गराउन थप जनशक्ति परिचालन गरिएको हेटौँडा अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा प्रवीण श्रेष्ठले बताए । उनका अनुसार कोरोना भाइरस सङ्क्रमण भइआएमा हेटौँडा अस्पतालको परिसरभित्र अहिल १० श्ययाको आइसियु कक्षको स्थापना गरिएको छ । उक्त कक्षमा १० दिनभित्र आवश्यक पर्ने विभिन्न उपकरण, एप्रोन, मास्कलगायत चिकित्सक र स्वास्थ्यकर्मीको जनशक्ति उपलब्ध गराउन प्रक्रिया शुरु भइसकेको प्रदेश स्वास्थ्य निर्देशनालयका प्रमुख निर्देशक रमेश अधिकारीले बताए ।

उनले हेटौँडा अस्पतालको नवनिर्मित भवनमा कोरोनाको सङ्क्रमित बिरामीलाई उपचार गर्न एक सय श्ययाको आइसोलेशन कक्ष स्थापना गर्ने र आवश्यक श्यया, एप्रोन, स्वास्थ्य जनशक्ति उपलब्ध गराउन प्रदेशको सामाजिक विकास मन्त्रालयलाई अनुरोध गरिसकेको जानकारी दिए ।

कोरोना भाइरसको शङ्कास्पद बिरामीलाई राख्न हेटौँडा उपमहानगरपालिका–६ गौरीटार, वडा नं ४ कर्रा, सशस्त्र प्रहरी क्याम्प, वडा नं १० को वन विज्ञान अध्ययन संस्थानको परिसर र वडा नं ११ नवलपुरस्थित हेटौँडा एकेडेमीको भवनसमेत गरी ५०० जनालाई क्वारेन्टाइनमा राख्ने व्यवस्थापन गरिएको छ । ती क्वारेन्टाइनका लागि आवश्यक सामग्री र उपकरण दुई हप्ताभित्र खरिद गरी ल्याई जडान गर्नेतर्फ प्रक्रिया शुरु भइसकेको सामाजिक विकास मन्त्रालयका वरिष्ठ चिकित्सक डा पुरुषोतम सेढार्इंले बताए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *