दशैंलाई पैसा कमाउन लद्दाख गएका ८२ नेपाली अलपत्र

डिसी नेपाल
१० चैत २०७६ ९:३९

नयाँदिल्ली । कामका लागि हालै लेह–लद्दाखमा पुगेका ६ महिलासहित ८२ जना नेपाली अलपत्र परेका छन् । उनीहरूले सरकारसँग उद्धार वा खान, बस्नको व्यवस्था गरिदिन आग्रह गरेका छन् । दाङ र सल्यानका ती नेपाली डकर्मीको काम गर्न त्यहाँ गएका हुन् । उनीहरू चैत १ मा दाङबाट दिल्ली र तीन दिनपछि दिल्लीबाट लेह–लद्दाख पुगेका थिए ।

त्यहाँ पुगेपछि मात्र उनीहरूले कोभिड–१९ को त्रासले सबै काम बन्द भएको थाहा पाएका थिए । काममा बोलाउने साहु र ठेकेदार सम्पर्कविहीन भएको उनीहरूले बताएका छन् ।

अलपत्रमध्ये ५० जनालाई सल्यानका सुवास योगीले लगेका हुन् । अरू छुट्टै दुई दिनपछि पुगेका हुन् । योगी डकर्मी र अन्य मजदुरीका लागि आफ्ना गाउँलेलाई पछि लगाएर भारतको लेह–लद्दाख जान, आउन थालेको बीस वर्ष भयो । उनीहरू प्रत्येक वर्षको फागुन अन्त्यमा गएर दसैं लाग्नुअघि घर फिर्ने गर्थे ।

योगीले कोभिड–१९ ले भारतमा पनि त्रासदी मच्चाएको गाइँगुइँ सुनेका थिए । मनमा चिसो पसेर दिल्ली पुग्नासाथ ठेकेदार र साहुसँग फोनमा उनले लेह–लद्दाखको स्थिति सोधेका थिए ।

उताबाट खासै चिन्ता गर्नुपर्दैन भन्ने जवाफ आएपछि उनीहरू दिल्लीबाट जहाजमा लेह–लद्दाख ओर्लेका थिए । त्यहाँ ओर्लेपछि परिस्थिति ठीक उल्टो थियो । व्यापार व्यवसाय बन्द थियो । बजारसमेत खुलेको थिएन । त्यसपछि उनले ठेकेदार र साहुलाई फोन गरे । फोन उठेन ।

दाङबाट दिल्लीसम्म प्रतिव्यक्ति २ हजार ४ सय भारु र दिल्लीबाट लेह–लद्दाखसम्म भाडा औसत ७ हजार ५ सय भारु लागेको थियो ।

दिल्लीमा तीन दिन बस्दा पनि खर्च भयो तर लागेको खर्चभन्दा पनि घर फर्किने चिन्ताले सताएको योगीले सुनाए । कहीँ ठाउँ नपाएर उनीहरू सबै जना बजारको बन्दै गरेको एउटा घरमा ओत लागेका छन् । बँचेको पैसा पनि खर्च भइसकेको छ । जाडोले थप कष्ट दिएको छ । दुई दिनपछि पुगेको अर्को टोली पनि त्यही हूलमा मिसिएको छ ।

उनीहरू तत्काल घर फर्किने परिस्थिति छैन । भारत सरकारले आइतबारबाट लामो दूरीका बस र रेल बन्द गरेको छ । ‘दिल्लीमा हुँदासम्म केही भनेनन् नत्र हामी उतैबाट घर फर्किन्थ्यौं,’ योगीले भने, ‘अहिले त फर्किन पनि मिल्दैन । बसौं भने खर्च छैन । जता हेर्दा पनि केही उपाय देखिँदैन । अब सरकारकै भर छ ।’

कान्तिपर दैनिक




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *