एक कल फोन गर्नुहोस्, उपचारका लागि घरमै आउँछौं

डिसी नेपाल
१२ चैत २०७६ ७:१९

दुल्लू। “तपाईहरु कोही विरामी हुनुहुन्छ भने हामीलाई एककल फोन गर्नुहोस, हामी तपाईहरुको उपचारका लागि घरमै आउँछौं।” विश्वव्यापी रुपमा फैलिएको (कोभिड –१९) कोरोना भाइरस फैलिन नदिन जिल्ला स्वास्थ्य कार्यालयले सम्बन्धित गाउँपालिका र नगरपालिकाको एम्बुलेन्सको नम्बर सार्वजनिक गर्दै यस्तो सूचना जारी गरेको छ।

कोरोनाको सङ्क्रमण कतै नफैलियोस र कोही पनि सङ्क्रमित नहोस् भन्नका लागि जिल्ला स्वास्थ्य कार्यालय दैलेखले स्वास्थ्यकर्मीको टोलीसहित घरमै गएर उपचार गर्ने रणनीति बनाएको हो। जिल्लाका ९० वडामध्ये ८९ वडामा सडकको सजिलै पहुँच भएकाले घरघरमै गएर उपचार गर्न सम्भव भएको जिल्ला जनस्वास्थ्य अधिकृत थिरप्रसाद रेग्मीले बताए।

“कोही विरामी भए । एक कल फोन गर्नुहोस् । उपचार लागि तपाईको घरमै आउँछौंं”, उनले भने, “कोराना फैलिन नदिनका लागि विरामीको घरदैलोमा उपचार गर्न थालेका छौं।” कोही विरामी हुँदा घरबाट बाहिर नआउन स्वास्थ्य कार्यालयले जिल्लाबासीलाई आग्रह समेत गरेको छ।
स्वास्थ्य कार्यालयले सूचनासँगै ९ स्थानीय तहका एम्बुलेन्स र त्यसको चालकको मोवाइल नम्बर सहितको सूचना जारी गरेको छ।

यी नम्बरहरुमा फोन आउनासाथ तुरुन्त त्यही पुगेर विरामीलाई जिल्ला अस्पतालमा ल्याइने जनस्वास्थ्य अधिकृत रेग्मीले जानकारी दिए। “हामीले जिल्लाका सबै एम्बुलेन्स चालकहरुको नम्बर सामाजिक सञ्जाल, रेडियो र सम्पूर्ण स्वास्थ्य चौकीका सूचना पार्टीमा टाँसी सकेका छौं”, उनले भने।

सबैले यो अनुरोधलाई आत्मसाथ गरे कोही कसैले उपचार नपाएर यो लक डाउनमा ज्यान गुमाउन नपर्ने उनको भनाइ छ। लकडाउन भएको बेला उद्दारका लागि १० एम्बुलेन्स तयारी अवस्थामा राखेको उहाँले बताए।

कोरोना सङ्क्रमितका लागि दैलेख अस्पतालमा १५, महावुमा ५, दुल्लू नगरपालिका ५, भगवतीमाई गाउँपालिकामा ५ वटा आइसोलेशन शैय्या र नारायण क्याम्पसमा १०० शैय्याकोे क्वारेन्टाइन तयार पारिएको उहाँले जानकारी दिए।

देशभर लकडाउन: स्वास्थ्यकर्मी जुवातासमा

कोराना भाइरस (कोभिड–१९)को कारण मंगलबारदेखि देशभर लकडाउन गरिएको छ। यस्तो अवस्थामा कुनैपनि स्थानमा मानिसहरु आवत जावत गर्न रोक लगाइएको छ भने विभिन्न स्थानहरुमा उच्च सतर्कता अपनाइएको छ।

तर दैलेखको महाबु गाउँपालिकाका स्वास्थ्यकर्मी भने जुवातासमा रिझेको पाइएको छ । गाउँपालिकाको सिमाना गिताचौरमा स्थापित ‘हेल्थ डेस्क’मा खटिएका स्वास्थ्य चौकी काँसिकाँधमा कार्यरत अहेव यूवराज शाही स्थानीयवासीसँग तास रिझेको पाइएको हो। जुवातासबाट एकअर्कामा सरूवा रोगहरू सर्न सक्ने चिकित्सकहरूको भनाइ छ।

गाउँपालिकाले कोभिड–१९ प्रतिकार्य योजना अन्र्तगत गाउँपालिकाका ४ वटा सिमानाकामा ‘हेल्थ डेस्क’ स्थापना गर्ने निर्णय गरेको गाउँपालिकाका अध्यक्ष जंगबहादुर शाहीले जानकारी दिए। उनका अनुसार हेल्थ डेस्कमा खटिने स्वास्थ्यकर्मीलाई पाउने सेवा सुविधामध्ये थप आधा महिना बराबरको सेवा सुविधा उपलब्ध गराउने निर्णय भएको जनाएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *