तत्कालका लागि न्यूनतम आवागमन खुल्ला गर्ने सरकारको निर्णय

डिसी नेपाल
१४ चैत २०७६ २०:२२

काठमाडौं । कोरोना भाइरस रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिले तत्कालका लागि न्यूनतम आवागमन खुल्ला गर्ने निर्णय गरेको छ । शुक्रबार बसेको बैठकले कोरोना संक्रमण फैलिन नदिन लिएको निर्णय र त्यसले जनजीवनमा पारेको प्रभावबारे समिक्षा गर्दै समितिले तत्कालका लागि न्यूनतम आवागमन खुल्ला गर्ने निर्णय गरेको हो ।

भारतको कोलकत्ताबाट नेपालको भन्सार विन्दुसम्म आएर अड्किएका सामान मुलुक भित्र्याउन, खाद्य सामाग्री बोकेका ढुवानीको सामान रोकिएको भन्सार विन्दुदेखि बजार सम्मको बाटोमा सवारी साधन सञ्चालन गर्न सहजिकरण गर्न, विभिन्न स्थानमा अलपत्र परेका पर्यटकहरुलाई सडकमार्गबाट ल्याउदा पुर्ण सुरक्षाका साथ ल्याउने र सम्बन्धित देशमा पठाउन प्रयास गर्न तथा कारखाना बन्द भएपछि अप्ठ्यारोमा परेका श्रमिकलाई गन्तव्यसम्म सुरक्षित ढंगले पुर्याउने व्यवस्था मिलाउनका लागि न्यूनतम आवागमन खुल्ला गर्ने निर्णय गरिएको अर्थमन्त्री एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. युवराज खतिवडाले जानकारी दिए ।

समितिले कोलकोत्ता बाट नेपालको भन्सारमा विन्दुसम्म आएर अड्किएका सामानहरु आवश्यक कागज बनाई छुटाउनुको साथै ती सामानहरु उपभोक्तासम्म पुर्याउने व्यवस्था मिलाउनका लागि सहजीकरण गर्न व्यवसायीलाई आव्हान गरेको छ ।

समितिले विदेशमा बेखर्ची भएका विद्यार्थीलाई नेपालबाट पैसा पठाउने व्यवस्था मिलाउन वित्तिय संस्थालाई आग्रह गर्नुको साथै एकैपटक भीडभाड हुने गरि बाहिर ननिस्कन र दुरी कायम गरेर अत्यावश्यक वस्तुको किनमेल गर्न सर्वसाधरणलाई अपिल गरेको छ ।

समितिले शुक्रबार सबै प्रदेशका मुख्य मन्त्रीसंग कोरोना भाइरसको संक्रमणसंग जुध्नका लागि गरिएका प्रयास बारे पनि जानकारी लिएको छ । प्रदेशका मुख्यमन्त्रीहरुले स्वास्थ्य सामाग्री र उपकरणको अभाव वर्तमान संकटका कारण भविष्यमा आईपर्न सक्ने वित्तिय दायित्वको समस्यालाई सम्बोधन केन्द्र सरकारसँग माग गरेको मन्त्री खतिवडाले जानकारी दिए ।

उनले क्वारेन्टाईन केन्द्र सञ्चालन सम्बन्धी केन्द्र सरकारले पठाएको मापदण्ड अनुसार काम गर्ने र संक्रमण फैलन नदिन हरसंभव प्रयास गर्ने सम्बन्धमा सबैले प्रतिवद्धता जनाएको पनि बताए । पोखरामा अवस्थित पश्चिमाञ्चल अस्पताललाई कोरोना संक्रमितको उपचार केन्द्र बनाउनका लागि केन्द्र सरकारले स्वीकृति दिएको छ । प्रदेश सरकारले सो अस्पताललाई कोरोना संक्रिमतको उपचार गर्ने गरि केन्द्र बनाउन गरेको आग्रहलाई केन्द्र सरकारले स्वीकृति दिएको हो ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *