सुकुम्वासीलाई सञ्चालन गरेको शिविरमा दुई सय बढीको उपचार

डिसी नेपाल
१८ वैशाख २०८३ २१:५७

काठमाडौं। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आज सुकुम्वासी बस्तीका नागरिकका लागि सञ्चालन गरेको स्वास्थ्य शिविरमा करिब दुई सय जनालाई स्वास्थ्य सेवा उपलब्ध गराइएको छ।

मन्त्रालयले सुकुम्वासी व्यवस्थापन कार्यक्रमअन्तर्गत अस्थायी रूपमा स्थानान्तरण गरिएका सुकुम्वासीलाई त्रिपुरेश्वरस्थित दशरथ रङ्गशाला र कीर्तिपुरस्थित राधा सत्सङ्गमा दुई स्थानमा गरिएको स्वास्थ्य शिविरमा २२२ जनाले सेवा लिएका मन्त्रालयका सूचना अधिकारी डा भक्त केसीले जानकारी दिए। उनका अनुसार रङ्शालामा १४० र राधा सत्सङ्गमा ८२ जनालाई स्वास्थ्य सेवा प्रदान गरिएको हो।

रङ्गशालाको शिविरमा उच्च रक्तचाप, मधुमेह, दीर्घकालीन श्वासप्रश्वाससम्बन्धी रोग, ग्यास्ट्राइटिस, झाडापखाला, सङ्क्रमण, चोटपटकलगायत समस्या भएका बिरामी देखिएका मन्त्रालयका सूचना अधिकारी डा केसीले बताए। सोही शिविरका केही सेवाग्राहीलाई मनोसामाजिक परामर्शसमेत दिइएको थियो।

त्रिपुरेश्वरस्थित दशरथ रङ्गशाला तीन दिनको शिविर सञ्चालन गरिएको छ। त्यसैगरी कीर्तिपुरस्थित राधा सत्सङ्गमा आज ४२ जनाको साधारण जाँच, २० जनाको आँखा, २० जनाको दाँत, १३ जनाको रगतमा चिनीको मात्रा परीक्षण गर्नुका साथै १४ जना बालबालिकाकोस्वास्थ्य परीक्षण गरिएको छ।

शिविरमा आएकामध्ये थप उपचारको आवश्यकता देखिएका १७ जनालाई वीर अस्पताल र छ जनालाई कान्ति बाल अस्पतालमा प्रेषण गरिएको उनले बताए। रङ्गशालामा शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल, परोपकार प्रसूति तथा स्त्रीरोग अस्पताल, पाटन मानसिक अस्पताल र कान्ति अस्पतालका चिकित्सक तथा नर्सले उपचार गरेका थिए। कीर्तिपुरस्थित राधा सत्सङ्गमा वीर अस्पतालबाट चिकित्सक र नर्स खटिएका थिए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *