आज ६३ औं सहकारी दिवस, परम्परागत ढाँचा परिवर्तन गर्न मन्त्रीको आग्रह

डिसी नेपाल
२० चैत २०७६ ९:१९

काठमाडौं । नेपालमा औपचारिक रुपमा सहकारी अभियान सुरु भएको ६३ वर्ष भएको छ ।

२०१३ साल चैत २० गते चितवन जिल्लामा बखान सहकारी संस्था दर्ता भएको हो । सोहि दिनको सम्झनामा आज राष्ट्रिय सहकारी दिवस मनाइँदैछ ।

विभिन्न औपचारिक कार्यक्रम गरी सहकारी दिवस मनाउने गरेपनि यसवर्ष पनि कोरोना भाइरसको संक्रमण तथा सरकारले घोषणा गरेको लकडाउनले औपचारिक कार्यक्रमहरु स्थगित गरिएका छन् । सहकारी दिवसलाई कोरोना संक्रमण रोकथामका जनचेतनात्मक कार्यक्रममा केन्द्रीत गरिएको छ ।

‘सहकारी दिवसको अवसमा बधाई र शुभकामना व्यक्त गर्दै भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्री पद्मा कुमारी अर्यालले सहकारीको परम्परागत सहकारीको ढाँचा परिवर्तन गर्नुपर्ने आवश्यक्ता औंल्याएकी छन् ।

संविधानले परिकल्पना गरेबमोजिम सहकारी क्षेत्रलाई अझ बढी प्रतिस्पर्धी तथा आर्थिक विकासको महत्वपूर्ण क्षेत्रको रुपमा विकास गर्न, सहकारी मार्फत ठूलो स्तरका उत्पादन, सेवा तथा वितरण सम्बन्धी आयोजना, उद्योग कलकारखाना सञ्चालन गर्नु आवश्यक छ । त्यसकालागि परम्परागत सहकारीको ढांचा परिवर्तन गरी सहकारीलाई आधुनिक प्रविधिमैत्री बनाउनु उत्पादन र रोजगारीसंग जोड्नु अहिलेको समयको माग हो’ मन्त्री अर्यालद्धारा जारी शुभकामना वक्तव्यमा भनिएको छ ।

यसैगरी मन्त्री अर्यालले कोरोना संक्रमण रोकथामामा जुट्न समेत आवहान गरेकी छिन्– ‘विपदको यस घडीमा राष्ट्रव्यापी संजाल रहेको सहकारीले नागरिकमा राहत, सही सूचनाको संप्रेषण र सहजिकरण गर्न पर्ने खांचो छ । यस दिशातर्फ अगाडि बढ्न आजको दिनले हामीलाई प्रेरित गरोस । मुल्य, मान्यता र सिद्धान्तमा आधारित सुशासनयुक्त सवल सहकारी प्रणालीको विकास गर्न हाम्रा नीति र विधिलाई समय सापेक्ष परिस्कृत गर्दै अगाडी बढेमा सहकारी निजी र सार्वजनिक सरह प्रतिस्प्रर्धी र सम्मानित क्षेत्रको रुपमा सर्वस्वीकार्य हुनेछ’ शुभकामना वक्तव्यमा भनिएको छ ।

सहकारी अभियानको छाता संगठन राष्ट्रिय सहकारी महासंघले सहकारी दिवसका लागि ‘मर्यादित श्रम र पर्यटनका लागि सहकारी’ भन्ने नारा तय गरेको छ । महासंघका अध्यक्ष मिनराज कडेँलले विज्ञप्ति जारी गर्दै अत्यावश्यकिय मानविय सेवा र सहयोग पुर्याउदै फरक ढंगले दिवस मनाउन आवहान गरेका छन् ।

नेपालमा किसानलाई मल, विउ वितरण गर्न सुरु भएको सहकारी पञ्चायत कालभरी साझा संस्थाको रुपमा अघि बढ्यो । २०४८ सालको सहकारी ऐन र २०४९ को सहकारी नियमावलीका कारण स्वस्फूर्त रुपमा फस्टाउने मौका पाएको हो । त्यसयता सहकारीको संख्या बढेर ३५ हजार नाघेको छ ।

अहिले बचत तथा ऋणका साथै कृषि, स्वास्थ्य, संचार, उपभोक्ता, यातायातलगायतका क्षेत्रमा सहकारीले काम गर्दै आएको छ । ६५ लाख सर्वसाधारण सहकारी अभियानमा आवद्ध छन् ।

संविधानमा सरकारी र निजीसँगै अर्थतन्त्रको आधारस्तम्भ स्विकार गरिएको सहकारीको कुल ग्राहस्थ उत्पादन (जिडीपी) मा ५ प्रतिशत र वित्तीय क्षेत्रमा २५ प्रतिशत योगदान पुर्र्याएको छ ।

गाउँ गाउँमा वित्तीय पहुँच पुर्र्याउनुका साथै स सानो बचत संकलन र ऋण प्रवाहका लागि सहकारीको भूमिका उल्लेख्य छ ।  तर, बचत तथा ऋण कारोबार गर्ने सहकारीहरुमा भने विकृति देखिएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *