कतारमा ८० प्रतिशत कामदारलाई घरबाटै काममा लगाइने, काम गर्ने समय घटाइयो

डिसी नेपाल
२० चैत २०७६ ९:५२

काठमाडौं। कतारमा अब निजी क्षेत्रमा कार्यरत कामदारहरुलाई पनि घरबाटै काम लगाइने भएको छ । कतार रकारले निजी क्षेत्रलाई आफ्ना कूल कामदारको ८० प्रतिशत कामदारलाई घरबाटै काम लगाउन निर्देशन दिएको हो । बुधबार प्रधानमन्त्री तथा आन्तरिक मामिलामन्त्री शेख खालिद बिन खालिफा बिन अब्दुलाजीज अलथानीको अध्यक्षतामा  बसेको मन्त्रीस्तरीय बैठकले यो निर्णय गरेको हो। मन्त्रिपरिषदको बैठकले आज बिहीबारबाट लागू हुने गरी यस्तो निर्देशन दिएको कतारको सरकारी समाचार एजेन्सी क्यूएनएले जनाएकाे छ ।

यो निर्णय अहिलेका लागि २ हप्तासम्म लागू हुनेछ र आवश्यक परेको अवस्थामा अवधि थप गरिनेछ । यो निर्णय केही विशेष क्षेत्रहरुमा भने लागू हुने छैन । सैन्य र सुरक्षा, विदेश मन्त्रालय र कूटनैतिक मिशन, स्वास्थ्य सेवा, तेल र ग्यास र केही विशेष परियोजनामा कार्यरत सरकारी कर्मचारीको हकमा भने यो लागू हुने छैन ।

दिनमा काम गर्ने समय पनि घटाएर बिहान ७ बजेदेखि दिउँसो १ बजेसम्म ६ घण्टा बनाइएको छ । किराना पसल र औषधी पसल तथा रेष्टुरेण्टको हकमा भने यो समय लागू हुने छैन । घर सरसफाइ सेवा स्थगित गरिएको छ । बसबाट ओसारिने यात्रुको संख्या आधा बनाइएको छ ।

त्यस्तै सनैया क्षेत्रको लकडाउनको समयअवधि समेत बढाइएको छ । कतारी प्रशासनले कोरोना फैलिने सम्भावित जोखिमलाई मध्यनजर गर्दे सनैयाको सडक नम्बर १ देखि ३२ सम्मको क्षेत्रलाई गत मार्च १७ तारिखदेखि सिल गरेको थियो। यो क्षेत्र उल्लेख्य नेपाली कामदारहरुको बस्ने ठाउँ हो ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *