एनआरएनएले भन्यो– नविन विकले मिडियामा दिएको अभिव्यक्ति संघको आधिकारिक होइन

डिसी नेपाल
२० चैत २०७६ १५:३५

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) ले एक केन्द्रीय सदस्यले आफूखुसी मिडियामा अभिव्यक्ति दिएको भन्दै आपत्ति जनाएको छ । चीनमा व्यवसाय गर्दै आएका आइसीसी सदस्य नविन विकले संस्थाको नियम विपरित मिडियामा बोलेको भन्दै संघले आपत्ति जनाएको हो ।

विकले केही दिनअघि एक नेपालको राष्ट्रिय टेलिभजनको लाइभ कार्यक्रममा नेपाल सरकारले चीनबाट स्वास्थ्य परीक्षण उपकरण र सुरक्षा सामग्रीहरुको खरिद गर्दा महंगो मूल्य तिरेको आरोप लगाएका थिए । लाइभ अन्तरवार्तामा विकले आफ्नो नेतृत्वमा संघले सस्तो मूल्यमा सामान पठाउन लागेको बताएका थिए ।

सामग्रीहरुको खरिद गर्दाको प्रकृया र खरिद मूल्यका सम्बन्धमा विकले टेलिभिजन कार्यक्रममा दिएको सार्वजनिक अभिव्यक्तिप्रति संघले आफ्नो ध्यानाकर्षण भएको जनाएको छ । संघका प्रवक्ता डिबी क्षेत्रीले बुधवार एक विज्ञप्ति जारी गर्दै विकले दिएको अभिव्यक्ति संघको आधिकारिक धारणा नभएको प्रष्ट पारेका छन्। तर, अभिव्यक्ति दिने विकको नाम भने उल्लेख गरिएको छैन ।

‘नेपाल सरकारले चीनबाट स्वास्थ्य परीक्षण उपकरण र सुरक्षा सामग्रीहरुको खरिद गर्दाको प्रकृया र खरिद मूल्यका बारेमा संघका अन्तर्राष्ट्रिय समन्वय परिषदका एक सदस्यले टेलिभिजन कार्यक्रममा दिएको सार्वजनिक अभिव्यक्तिप्रति हाम्रो ध्यानाकर्षण भएको छ । निजले दिएको अभिव्यक्ति संघको आधिकारिक धारणा नभएको प्रष्ट पार्न चाहान्छौं,’ प्रवक्ता क्षेत्रीद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।

संघले तोकेको आधिकारिक व्यक्ति बाहेक अन्य व्यक्तिले दिएको अभिव्यक्ति संघको आधिकारिक धारणा हुन नसक्ने विज्ञप्तिमा उल्लेख छ । व्यापक भ्रष्टाचार र अनियमितताको आरोप लागेर विवादमा तानिएपछि सरकारले कोभिड–१९ रोकथाम तथा नियन्त्रणका लागि अत्यावश्यक सामग्री खरिदका लागि ‘ओम्नी टेक’ कम्पनीसँग गरेको सम्झौता रद्द गरिसकेको छ।

खरिद प्रकृयामा बिषयमा कुनै कमी कमजोरी भए यसको छानबिन गर्ने जिम्मेवारी राज्यको सम्बन्धित निकायको भएको संघको भनाइ छ । त्यसरी संस्थाको नियम विपरित सार्वजानिक रुपमा बोल्नेलाई अब के हुन्छ त ? भन्ने डिसी नेपालको प्रश्नमा प्रवक्ता क्षेत्री भन्छन्– ‘ उहाँ सदस्य भनेको चीनमा रहेका नविन बिक हो । उहाँलाई कार्वाही केही हुँदैन । उहाँले मिडियामा बोलेको धारणा व्यक्तिगत धारणा हो । संस्थाको होइन मात्रै भनेको हो ।’

संघले विकले बोलेको कुरा आधिकारिक नभएको भन्दै गर्दा एनआरएनए बृत्तमा कतिपयले भने सरकारलाई ठूलो दुर्घटनाबाट बचाएको भन्दै उनलाई बधाइ दिएका छन् । इतिहासकै क्रुर र अमानवीय भ्रष्टाचारबाट देशलाई जोगाउन भूमिका खेलेको भन्दै बिकलाई एनआरएनए भित्रका कार्यसमितिकै पदाधिकारीले प्रशंसा गरेका हुन् ।

उनीहरुले पुरस्कृत गर्ने बेलामा बिकलाई आधिकारिक नभएको भन्दै अपमान गरेको आरोप लगाएका छन् । कतिपयले त प्रवक्ता क्षेत्रीलाई मन्त्रीको प्यारो बन्न खोजेको आरोपसमेत लगाएका छन् । क्षेत्रीले सरकार पक्षको बचाउ गर्दै बिकको भनाइलाई खण्डन गरेर नेपाल सरकार र मन्त्रीलाई लिएर आफू सरकारको नजिक बन्न खोजेको आरोप लगाएका छन् ।

यसै विषयमा एनआरएनएका केन्द्रीय सदस्य रामशरण सिम्खडा भने नविन विकले संघको परिधिभन्दा बाहिर गएर बोल्नु उपयुक्त नभएको ठान्छन् । ‘नविन विक चीनमा बस्ने एक व्यापारी हो । उहाँ केन्द्रीय सदस्य भएता पनि सिंगो संस्थाको विषयमा बोल्ने अधिकार छैन,’ उनी भन्छन् ‘व्यापारी भएकोले केही व्यपारिक स्वार्थ पूरा नभएपछि उहाँले त्यसो भनेको हुनुपर्छ । तर, व्यक्तिगत स्वार्थको लागि समग्र संस्थालाई जोडेर सरकारको विरोध गर्नु जायज होइन ।’ उनले विकको नाम नलिइ संघले निकालेको विज्ञप्तिप्रति भने असुन्तष्टि जनाएका छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *