कोरोनाभाइरसको विषयमा नयाँ तथ्यको खोजी, औलो रोगसँग भेटियो यस्तो विशेष सम्बन्ध

डिसी नेपाल
२३ चैत २०७६ १४:०१

काठमाडौं। विश्वभरी महामारीको रुपमा फैलिरहेको कोरोनाभाइरसलाई रोक्न यसको संक्रमण फैलिने प्याटर्नबारे पनि धेरै वैज्ञानिकहरुले खोजी गरिरहेका छन् । यही बीचमा अमेरिकाको अन्तरिक्ष अनुन्धान संस्था नासाका पूर्व वैज्ञानिक, मौसम विज्ञानी तथा शोधकर्ता रोय स्पेन्सरले तथ्यांकको विश्लेषण गर्दै कोरोनाभाइरस र औलो रोग (मलेरिया)बीच विशेष सम्बन्ध पत्ता लगाएका छन् । यसका लागि उनले २०१७ मा महामारीका रुपमा फैलिएको औलोको संक्रमण र मृत्युको तथ्यांक तथा अहिले कोरोनाभाइरसको संक्रमण र मृत्युको तथ्यांकको विश्लेषण गरेका थिए ।

आफ्नो शोधको नतिजा आफ्नो व्यक्तिगत वेबसाइटमा प्रकाशित गर्दै स्पेन्सरले औलोको प्रकोप अत्याधिक फैलिएका क्षेत्रमा कोरोनाभाइरस संक्रमण निकै कम फैलिएको र औलो नभएका क्षेत्रमा कोरोनाभाइरस महामारीको रुपमा फैलिएको तथ्यको खुलासा गरेका छन् । उनका अनुसार २०१७ मा जुन–जुन देशहरुमा औलोको प्रकोप अत्याधिक थियो त्यहाँ अहिले कोरोनाभाइरसको संक्रमण अत्यन्तै कम छ भने जहाँ औलो देखिएकै थिएन वा अत्यन्तै कम थियो त्यहाँ अहिले कोरोनाभाइरसको महामारी अत्यन्तै छ ।

यसका लागि स्पेन्सरले २३४ देशको तथ्यांकको विश्लेषण गरेका छन् । २०१७ मा औलोबाट सबैभन्दा धेरै मृत्यु नाइजेरियामा भएको थियो । यहाँ ९७ हजार २ सय जनाले औलोका कारण ज्यान गुमाएका थिए । यहाँ अहिले कोरोनाभाइरस संक्रमण मात्रै २१० जनामा देखिएको छ र ४ जनाको मात्र मृत्यु भएको छ । यस्तै औलोबाट ४८ हजार ६ सयले ज्यान गुमाएको कंगोमा कोरोना संक्रमित २२ र मृत्यु हुने २ जना छन् । १६ हजार २ सयले औलोका कारण ज्यान गुमाएको मोजाम्बिकमा १० जना कोरोना संक्रमित छन् र कसैको मृत्यु भएको छैन ।

औलोका कारण सबैभन्दा धेरै प्रभावित ४० देशको तथ्यांकको विश्लेषण गर्दै स्पेन्सरले यी ४० औलो पीडित देशमा प्रत्येक १ हजार जनामा २१२.४ जना औलो संक्रमित भेटिएको तर अहिले यिनै देशमा प्रत्येक १० लाख जनामा ०.२ जना मात्र कोरोनाभाइरस संक्रमित पाइएको तथ्यांक पेश गरेका छन् । यस्तै एक जनामा पनि औलो नदेखिएका देशको तथ्यांक विश्लेषण गर्दै उनले भनेका छन् – जुन देशमा औलोको संक्रमण प्रत्येक १ हजार जनामा शून्य थियो ती देशमा प्रत्येक १० लाख जनामध्ये ६८.७ जना कोरोनाभाइरसबाट संक्रमित भएका छन् ।

उनको यो खोज यसकारण पनि महत्वपूर्ण छ कि किनकि यसअघि ६९९ बिरामीको उपचार गर्दा शतप्रतिशत सफलता पाएका अमेरिकाको न्यूयोर्कका डाक्टर भ्लादिमिर जेलेन्कोले आफूले हाइड्रोक्सिक्लोरोक्विन सल्फेट, जिंक र एजिथ्रोमाइसिन (जेड–प्याक) प्रयोग गरेर बिरामीको उपचार गरेको र ती बिरामीहरु चाँडै निको भएको बताएका थिए । उनले आफूले प्रयोग गरेको भनेको औषधी हाइड्रोक्सिक्लोरोक्विन खासमा औलोकै उपचारमा प्रयोग हुने औषधी हो ।

अहिले पनि विश्वभरीका डाक्टरमध्ये ३० देशका करिब ६ हजार २ सय डाक्टरहरुले (विश्वका कूल डाक्टरहरुको ३७ प्रतिशत) हाइडोक्सिक्लोरोक्विन प्रयोग गर्न स्वीकृति दिइसकेका छन् । यी डाक्६रहरुले हाइड्रोक्सिक्लोरोक्विनलाई कोरोनाभाइरसविरुद्ध सबैभन्दा प्रभावकारी भनेका छन् । युरोप, अमेरिका र चीनमा डाक्टरहरुलाई कोरोनाभाइरसको उपचारमा यो औषधी प्रयोग गर्न स्वीकृति दिइसकिएको छ । बेलायतमा भने यसको क्लिनिकल ट्रायल जारी छ । विश्वभरका डाक्टरहरुको प्राइभेट सामाजिक संजाल सेर्मोका अनुसार स्पेनमा ७२ प्रतिशत र इटलीका ५३ प्रतिशत डाक्टरहरुले कोरोनाभाइरसको उपचारमा यो औषधी प्रयोग गरेको बताएका छन् । चीनमा ४४ प्रतिशत र बेलायतमा १३ प्रतिशतले यो औषधी प्रयोग गरेका छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *