आफ्नै ठूलो भूलका कारण अमेरिका कोरोनाभाइरसको दलदलमा यसरी फस्दै गयो

डिसी नेपाल
२७ चैत २०७६ १३:३५

काठमाडौं। कोरोनाभाइरसका कारण सबैभन्दा प्रभावित देश अमेरिका बनेको छ । यहाँ ४ लाख ३५ हजारभन्दा धेरै संक्रमित भइसकेका छन् । १४ हजार ७ सयभन्दा धेरैले ज्यान गुमाइसकेका छन् । अमेरिकाजस्तो शक्तिशाली मुलुक महामारी रोक्न यतिसम्म असफल किन भयो ? यसको पछाडि अमेरिकाले समयमै गर्नुपर्ने तयारीमा चुक ठूलो कारणको रुपमा देखिएको छ ।

१९ जनवरी २०२० मा वाशिङटनका ३५ वर्षका एक व्यक्तिलाई स्नोहोमिश काउन्टी अस्पतालमा भर्ना गरियो । ४ दिनदेखि रुघाखोकीले ग्रस्त ती युवकलाई सास फेर्न पनि समस्या भइरहेको थियो । उनका अनुसार उनी चीनको वुहानमा आफन्तसँग भेटेर १५ जनवरीमा वाशिङटन फर्केका थिए । यो त्यो समय थियो जतिबेला चीनले समेत कोरोनाभाइरस महामारीको आधिकारिक घोषणा गरेको थिएन । २० जनवरीमा ती युवकको परीक्षण रिपोर्ट आयो र उनीमा कोरोनाभाइरसको संक्रमण भएको पुष्टि भयो । यी व्यक्ति अमेरिकामा भेटिएका पहिलो संक्रमित थिए ।

२९ फेब्रुअरी २०२० मा वाशिङटनमै कोरोनाभाइरसका कारण एक व्यक्तिको मृत्यु भयो । ५० वर्षका एक व्यक्तिको कोरोनाभाइरसका कारण मृत्यु भएको स्थानीय प्रशासनले जानकारी दियो । उनको ट्राभल हिस्ट्री खोज्दा उनले कोरोनाभाइरसको संक्रमण फैलिएको कुनै पनि ठाउँको यात्रा गरेको पाइएन । संक्रमण फैलिएका ठाउँबाट फर्किएका कुनै व्यक्तिसँग मृत्यु हुने व्यक्ति सम्पर्कमा आएको पनि भेटिएन । अर्थात, अमेरिकामा पहिलो कोरोनाभाइरस संक्रमित भेटिएको १ महिना ९ दिनपछि मात्र कुनै बिरामीको यही भाइरसका कारण मृत्यु भएको थियो । पहिलो संक्रमणदेखि पहिलो बिरामीको मृत्यु भएको मितिसम्म आइपुग्दा अमेरिकामा १५०० भन्दा धेरै संक्रमित भएको पुष्टि भइसकेको थियो ।

आज अमेरिकामा पहिलो बिरामीको मृत्यु भएको ठिक १ महिना ९ दिन नै भएको छ । तर, आज पनि अमेरिका कोरोनाभाइरससँग संघर्ष गरिरहेको छ र यो संघर्षमा अमेरिकामाथि कोरोनाभाइरस हावी देखिएको छ । भाइरसले अमेरिकामा विकराल रुप लिइसकेको छ र ठूलो विनाश मच्चाइरहेको छ । यतिसम्म कि अमेरिकापछि सबैभन्दा धेरै संक्रमण देखिएका तीन देशहरु इटली, स्पेन र जर्मनीका कूल संक्रमितको संख्या जोड्दा पनि अमेरिकाका संक्रमितको संख्याभन्दा कम नै हुन्छ । सबैभन्दा चिन्ताको कुरा त विज्ञहरु अझैसम्म अमेरिकामा कोरोनाभाइरसको सबैभन्दा ठूलो विनाशको चरण आउन बाँकी नै रहेको बताइरहेका छन् ।

कोरोनाभाइरसले पूरै अमेरिकी मेडिकल सिस्टमको पोल खोलिदिएको छ किनकि अमेरिकाले चीनमा संक्रमितको संख्याले २०० मात्रै नाघ्दा र दक्षिण कोरियामा पहिलो संक्रमित भेटिँदासम्म आफ्नो देशमा कोरोनाभाइरस छिरिसकेको थाहा पाइसकेको थियो । जनवरी २० मा मात्र चीनमा संक्रमितको संख्याले २०० नाघेको थियो र यो भाइरसले चीनमा तेस्रो व्यक्तिको ज्यान गएको थियो । यही बेला दक्षिण कोरियामा पनि पहिलो संक्रमण भेटिएको थियो र चिनियाँ वैज्ञानिकले यो भाइरस मानिसबाट मानिसमा सर्ने पुष्टि गरेका थिए । तर, अमेरिका सरकारले यो भाइरसलाई हल्का रुपमा लियो र यो भाइरससँग जुध्न पर्याप्त समय हुँदा पनि यसको लागि पर्याप्त तयारी गरेन ।

कोरोनाभाइरसको पहिलो संक्रमित भेटिएको तीन महिना हुन लागिसक्दा समेत अमेरिका आजसम्म टेस्ट किटकै लागि संघर्षरत छ । उसले चाहेको भए यसको तयारी धेरै पहिले गर्न सक्थ्यो । जोन्स हप्किन्स ब्लुमबर्ग स्कुल अफ पब्लिक हेल्थकी एसोसिएट वैज्ञानिक इमिली गुर्लेका अनुसार यो भाइरसको प्रकोप रोक्ने सबैभन्दा प्रभावकारी तरिका सुरुमै धेरैभन्दा धेरै टेस्ट गर्नु थियो । यही काम दक्षिण कोरिया र सिंगापुरले समयमै गरे तर अमेरिकी सरकार यस्तो गर्न असफल रह्यो । यो नै अमेरिका सरकारको सबैभन्दा ठूलो गल्ती थियो र यसैको परिणाम आजको कठिन परिस्थिति आएको छ ।

अमेरिकासँग सुरुमै यो महामारीसँग लड्ने र उसलाई हराउने मौका थियो तर उसले यो मौका गुमाइसकेको छ । अमेरिकाले हालत बिग्रिएपछि ठूलो परिमाणमा टेस्ट गर्न सुरु त गर्यो तर त्यतिबेलासम्म संक्रमितको संख्या निकै धेरै भइसकेको थियो । अमेरिकामा संक्रमित यति धेरै भइसकेका थिए कि उनहिरुको सम्पर्कमा आउनेहरुको पहिचान गर्नु असम्भवजस्तै हुन थाल्यो । अमेरिकामा परीक्षण नै फेब्रुअरीमा मात्र सुरु भयो । सुरुवाती टेस्टमै केही कमजोरी पनि देखिए ।

राष्ट्रपति डोनाल्ड ट्रम्पले १३ मार्चमा एक महिनाभित्र ५० लाख टेस्ट गर्ने घोषणा गरेका थिए । तर, मार्च महिनाको अन्त्यसम्म केवल १० लाख मात्र टेस्ट भए । यो संख्या अन्य देशको तुलनामा त बढी हो तर अमेरिकाको जनसंख्याको अनुपातमा भने यो निकै कम हो । अमेरिकाले टेस्ट नै ढिलो गतिमा सुरु गर्यो तर यी प्रयोगशालामा एक्कासी नमूनाको बाढी नै आयो जसका कारण नमूनाको रिपोर्ट आउन पनि ढिलाइ हुन थाल्यो । ढिलाइका कारण परीक्षणका लागि नमूना दिएकाहरु पनि आफू संक्रमित भए–नभएको निश्चित हुन सकेनन् र अन्जानमै अरुमा संक्रमण फैलाइरहे ।

कोरोनाभाइरसको यो हालतसँग जुध्नको लागि विज्ञहरुले राष्ट्रपति ट्रम्पलाई लकडाउनको सल्लाह दिएका थिए तर ट्रम्पले यो प्रस्तावलाई अस्वीकार गरे । सम्भवतः लकडाउनबाट उत्पन्न हुने अर्थव्यवस्थाका संकट र बेरोजगारीको अवस्थामा यही वर्ष हुने राष्ट्रपतिको निर्वाचनमा आफ्नो पक्षमा माहोल नबन्ने ट्रम्पको डर थियो । अमेरिकामा लकडाउन भएमा विश्व अर्थव्यवस्थामा चीन हावी हुन सक्ने आशंकाले पनि सम्भवतः राष्ट्रपति ट्रम्पलाई लकडाउन नगर्न प्रेरित गर्यो । तर, परिस्थिति नहेरी रणनीति बनाउँदा ट्रम्प प्रशासन नराम्रोसँग चुक्यो ।

अझै पनि ट्रम्प चेतेका भने छैनन् । केही समयअघि त उनले मध्य अप्रिलसम्म अमेरिकाको अर्थव्यवस्था पूरै खुला गर्ने बताएका थिए । यद्यपि संक्रमणको गति झनै तीव्र बन्दै गएपछि उनी आफ्नो योजनाबाट पछि हटे । अहिले उनले सावधानीका गाइडलाइनलाई अप्रिल ३० सम्मका लागि लम्ब्याएका छन् । अर्कोतर्फ युनिभर्सिटी अफ वाशिङटनको मेडिकल डिपार्टमेन्टको रिपोर्ट अनुसार अप्रिलको मध्यसम्म अमेरिकामा हरेक दिन मृत्यु हुनेको संख्या औसत २२०० हुनेछ र यही हालत रह्यो भने जुलाइको मध्यसम्म ८० हजारभन्दा धेरै अमेरिकीले ज्यान गुमाउनेछन् ।

कोरोनाभाइरसको सम्भावित प्रकोपका विषयमा अमेरिकी प्रशासन र सरकार मात्र होइन आम मानिसहरुले पनि यसलाई हल्का रुपमा लिए । लगातार चेतावनी दिइँदा पनि यहाँ सामाजिक दूरीको पालना भएन, मानिसहरु ठूलो संख्यामा चर्च, समुद्र किनार लगायतमा जम्मा भइरहे । यो सबको पछाडि राज्य सरकार व्यवसाय बन्द गर्न र नागरिकलाई घरमै बस्ने आदेश दिन हिच्किचाउनु मुख्य कारण रह्यो ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *