कोरियाबाट पहिलो चरणमा पठाइयो ४ हजार टेष्टिङ किट्ससहित अन्य स्वास्थ्य सामग्री

डिसी नेपाल
२८ चैत २०७६ १२:४५

काठमाडौँ । दक्षिण कोरियाबाट पहिलो चरणमा ४ हजार कोरोना टेष्टिङ किट्ससहित अन्य कोरोना विरुद्धका औषधिजन्य सामग्री नेपाल पठाइएको छ । गैरआवासीय नेपाली संघ दक्षिण कोरियाको संयोजनमा त्यहाँ कार्यररत नेपालीले मातृभूमिको सहयोगका लागि ‘एक व्यक्ति, एक हेल्थ किट’ अभियान चलाएका थिए । उक्त अभियानमा ४ दिनमै १४ करोड २६ लाख ३७ हजार ७७९ वोन अर्थात १ करोड ४० लाख ७९ हजार ७७५ रुपैयाँ संकलन गरेको थियो ।

सो अभियानबाट संकलित रकममध्ये पहिलो चरणमा ४ हजार किट र ५ सय थान हाइ सेन्सेटिभ कोभिड किट्स (एचपीपीई) सेट कोरियन एअरलाइन्सको विमान चाटर्ड गरेर पठाइएको हो । विमान शुक्रबार अपरान्ह ३ः३० बजे काठमाडौँ आइपुग्ने एनआरएनए दक्षिण कोरियाका अध्यक्ष यज्ञराज सुवेदीले डिसी नेपाललाई जानकारी दिए ।

बिहीबार एक कार्यक्रमको आयोजना गरि संघले नेपाली राजदूतावासका कार्यबाहक राजदूत रामसिंह थापालाई सहयोग सामग्रीहरुको विवरण बुझाएको थियो ।

किट्सबाहेक अन्य स्वास्थ्य सामग्रीअन्तर्गत दुई हजार थान पिपिई , १० हजार एन ९५ मास्क, २० हजार सर्जिकल मास्क, दुई हजार ग्लास, दुई हजार प्रोटेक्टिङ भाइजर, १० हजार पञ्जा र पाँच सय थर्मोमिटर पनि रहेको उनले जानकारी दिए ।

एक हप्ताअघि नै सामाग्रीहरु पठाउन हरदम प्रयास गरेपनि विमान उडान प्रभावित हुँदा ती सामग्रीहरु नेपाल पठाउन नसकिएको उनको भनाइ छ । ‘भाइरस संक्रमणकै कारण विमान उडान प्रभावित हुँदा नेपाल पठाउन समस्या परेको थियो । हामीले सबै प्रक्रिया पुरा गरेर सामान लोड गरिसकेका छौँ,’ उनले भने ‘ शुक्रबार अपरान्ह ३:३० बजे समान काठमाडौँ पुग्नेछ ।’ उनले अभियानमा सहयोग गर्ने सम्पूर्ण नेपालीलाई धन्यावाद समेत दिएका छन् ।

 




प्रतिक्रिया

One thought on “कोरियाबाट पहिलो चरणमा पठाइयो ४ हजार टेष्टिङ किट्ससहित अन्य स्वास्थ्य सामग्री

Leave a Reply

Your email address will not be published. Required fields are marked *