प्रहरीको कुटाइबाट छोरालाई जोगाउन खोज्दा आमाको मृत्यु

डिसी नेपाल
१ वैशाख २०७७ २०:१७

सप्तरी । लकडाउन उल्लंघनका विषयमा सप्तरीमा प्रहरीसँगको विवादका क्रममा बेहोश भएर ढलेकी एक महिलाको साेमबार मृत्यु भएको छ । प्रहरीको कुटाइबाट छोरा जोगाउन जाँदा बेहोश भएकी सप्तरी, खड्ग नगरपालिका–६ वीरपुरकी ६५ वर्षीया जैनब कुजर्नीको मृत्यु भएको हो ।

वीरपुरमा समूह बनाएर बसेका गाउँलेलाई घरभित्र पठाइरहेको प्रहरीले लकडाउन उल्लंघन गर्दै ट्रयाक्टर चलाएका नसिम अन्सारीमाथि लाठीचार्ज गरेपछि जोगाउन गएकी उनकी आमा जैनब बेहोस भएर ढलेको प्रत्यक्षदर्शीले बताए । नसिम घरका लागि ट्रयाक्टरबाट बालुवा ल्याइरहेका थिए ।

ट्रयाक्टर नचलाउन भन्दा विवाद गरेपछि लाठीचार्ज गरेको प्रहरीलाई रोक्न उनकी आमा पुगेकी थिइन् । सोही क्रममा उच्च रक्तचाप र दमकी बिरामी जैनब बेहोश भएर ढलेपछि कल्याणपुरस्थित एडभान्स अस्पतालमा प्राथमिक उपचार गराई थप उपचारका लागि गजेन्द्रनारायण सिंह अस्पताल राजविराज ल्याइँदा चिकित्सकले मृत घोषणा गरेका छन् ।

अस्पतालमा भेटिएका मृतकका जेठा छोरा अब्दुला र माहिला छोरा नइम कमरले आमा उच्च रक्तचाप र दमको रोगी रहेको र उनले नियमित औषधि सेवन गरिरहेको बताए । कान्छा छोरा नसिमलाई प्रहरीले लाठीले कुट्न थालेपछि जोगाउन गएकी आमा ढलेर बेहोश भएको र अस्पताल ल्याउँदा मृत्यु भइसकेको अब्दुलाले बताए ।

प्रहरी निरीक्षक धर्मराज मुडभरीको नेतृत्वमा खटिएको टोलीले घरबाट बाहिर सडकमा बसिरहेका मानिसलाई सम्झाइरहेका बेला उच्च रक्तचापका कारण उनी जमीनमा ढलेर बेहोश भएको र उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *