नयाँ वर्षमा जात्रामय हुने भक्तपुर र थिमि यस वर्ष सुनसान

डिसी नेपाल
१ वैशाख २०७७ २०:५३

भक्तपुर । नयाँ वर्षको दिन भक्तपुरमा मनाइने प्रसिद्ध बिस्केट जात्रा हेर्न आजको दिन विभिन्न जिल्लाबाट हजारौँको भीड लाग्ने गर्दथ्यो । परम्परागत तान्त्रिक विधिअनुसार वैशाख १ गते भक्तपुर र थिमिमा मनाइने बिस्केट जात्रा हेर्न बिहानदेखि घुइँचो हुन्थ्यो । भक्तपुरको ल्यासिंकखेलमा चैत मसान्तमा लिङ्गो उठाएपछि १ गते दिनभरि जात्रा गरी राति लिङ्गो नढालेसम्म भक्तपुर, काठमाडौँ, ललितपुर, काभ्रेलगायत विभिन्न जिल्लाबाट जात्रा हेर्न आउने हजारौँको घुइँचो यस वर्ष सम्झनामा मात्रै सीमित भयो ।

टौमढी युथ क्लब भक्तपुरका पूर्वअध्यक्ष विजय धौभडेल आजको दिन विगतका जात्रा सम्झेर, पुराना बिस्केटका फोटो, भिडियो हेरेर चित्त बुझाउनु परेको बताउछन् । हजारौँको भीडमा जात्रामय हुने भक्तपुर यसरी सुनसान हुँदा मन खल्लो भएको उनले सुनाए। ५५ हात लामो इन्द्रध्वजासहितको लिङ्गो जात्रा हेरेमा सहकाल आउने, मनोकाङ्क्षा पूरा हुने, शत्रु नाश हुने जनविश्वास रहे पनि यस वर्ष जात्रा हेर्न र मनाउन नपाएको स्थानीयवासी बताउँछन् । घरघरमा हुने भोज यस वर्ष कसैको घरमा भएन । न त स्वदेशी, विदेशी पाहुना नै आए । कोरोना भाइरसले यस वर्षको जात्रा, पर्व, संस्कृति, परम्परालाई पनि ओझेलमा पारेको बताउँदै धौभडेल कोरोनासँगको युद्ध जित्न पाए अर्को साल भव्यसँग जात्रा मनाऊँने अपेक्षा स्थानीयको छ ।

सूर्यविनायक नगरपालिकाको दधिकोट र सिरुटारको सङ्गमस्थलमा रहेको प्रसिद्ध चरखण्डी मन्दिरमा भने सोमबार बिहानैदेखि स्थानीय दर्शनार्थी पुगेका थिए । हरेक वर्ष वैशाख १ गते राति २ बजेदेखि दर्शनार्थीको घुइँचो लाग्ने यो मन्दिर यस वर्ष न सिङ्गारियो, न त खट जात्रा नै गरियो तर पनि स्थानीयवासीले सामाजिक दूरी कायम गरेर पूजा भने गरेका छन् । चरखण्डी महादेव मन्दिरको कुण्डमा स्नान गरी महादेवको पूजा गरे शरीरका सबै रोग नाश भई गरेको काम सफल हुने जनविश्वासले हरेक वर्ष वैशाख १ गते भीड लाग्ने भए पनि यस वर्ष सामान्य पूजामा नै पर्व सकिएको स्थानीयवासी एवम् संस्कृति अनुसन्धानकर्ता रत्न सायमीले बताउछन्।

किंवदन्तीअनुसार शिकारीले मारेको भङ्गेरा चरखण्डीको पोखरीमा डुब्दा दैवी शक्तिका कारण पुनर्जीवित भएर उडेको भनाइ छ । यहाँको कुण्डमा नुहाए शरीरमा खटिरा, दागलगायत छालासम्बन्धी रोगबाट मुक्ति मिल्ने बूढापाकाको भनाइ छ भने यही विश्वासले यहाँको कुण्डमा स्नान गर्ने, स्थानीयवासीले भव्य जात्रा मनाउने, शरीरमा बत्ती बाल्नेको भीड लाग्ने गरे पनि कोरोना सङ्क्रमण रोक्न सरकारले लगाएको लकडाउनका कारण मन्दिर जात्राविहीन भएको छ ।

त्यसैगरी दधिकोटको चित्रपुरस्थित पूर्णविनायक गणेश मन्दिरमा पनि बिहानदेखि मेला लाग्ने गरेकामा यस वर्ष गणेशको खट जात्रासमेत गरिएन । दधिकोट र सिरुटारका बासिन्दाले गणेशको पूजा गरी बलि चढाउने र मेला भर्ने यो मन्दिरमा आज न त खट उचालियो न त धिमाय बज्यो । यता सिरुटार र ललितपुरको टीकाथली गाविस जोड्ने दोभानस्थित गुप्तेश्वर महादेव मन्दिरमा भने सामाजिक दूरी कायम गरेर बिहान स्थानीयवासीलाई पूजा सञ्चालन गर्न दिइएको थियो ।

मध्यपुरथिमिमा चैत मसान्तको दिन साँझबाट शुरु गरी रातभर सञ्चालन हुने चान्हेसिया अर्थात् रात्रिको जात्रा यस वर्ष भएन । बालकुमारीलाई थिमिको लायकू दरबारबाट जात्रा गरी बालकुमारी मन्दिरमा ल्याएर विराजमान गराई चान्हेसिया जात्रा शुरु गर्ने परम्परा भए पनि यस वर्ष द्योछेंंबाट देवता निकालिएन । जात्रा पनि भएन ।

दिगुटोलस्थित दिगुभैरबलाई आचाजु कर्माचार्यको घरबाट लायकु ल्याएर तलेजुबाट बालकुमारीलाई ढकीमा राखी कपडाले छोपी बालकुमारी मन्दिरमा विराजमान गराइएपछि थिमिको अधिकांश घरघरबाट हातहातमा चिराग बालेर, धिमाय बजाई दक्षिणबाराही, हरिसिद्धि र अजिमा देवतालाई ल्याएपछि पुनः बालकुमारीबाट शंखधर चोक हुँदै क्वाछेंस्थित दक्षिण बाराही मन्दिर परिक्रमा गराउने परम्परा रहेको यो जात्रा विगतका वर्षको सम्झना मात्रै भएको थिमिका बासिन्दा बताउँछन् ।

त्यसैगरी, मध्यपुर थिमिका बासिन्दाले प्रसिद्ध विष्णुवीर एवम् सिद्धिकालीमा मनाउने जात्रा पनि हुन सकेन । विष्णुवीरलाई सुङ्गा टोलबाट तछुटोलको गणेश, प्रथम गणेश, वामुने गणेश, थासमा गणेशलगायत विभिन्न देवगणसहित इनाय् टोल, हात्ती महाङ्काल, भुलाँखेल, चोडे, सिवाटोल, दथुटोल, लाछी, वामुने टोल हुँदै पुनः तछुटोल र सुङ्गा टोलमा परिक्रमा गर्दै बालकुमारी मन्दिरमासमेत परिक्रमा गराउने प्रचलन थियो ।

त्यस्तै सिद्धीकालीका साथै अन्य विभिन्न देवगण थिमिको हात्ती महाङ्काल, कुमाननी, तुलाननी हुँदै जात्रा चपाचो पु¥याई स्वङ्गापुखुको दुना फल्चा परिक्रमा गराई भुलाँखेल हुँदै चपाचो सिद्धिकालीको आफ्नै स्थानमा विराजमान गराएर मनाउने जात्रा पनि यस वर्ष भएन ।

सूर्यविनायकको कटुञ्जेमा रहेको सुशिला भैरबको जात्रा पनि यस वर्ष रोकिएको छ । सुशिला भैरबलाई खटमा राखेर टोलटोल घुमाएर घरघरबाट पूजा गरी मनाइने यो जात्रा यस वर्ष कोरोना भाइरसकै कारण बन्द भएको स्थानीयवासी अमर भुजुले जानकारी दिए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *