बैतडीका दुई स्थानीय तहमा टोल फ्रि नम्बर सञ्चालनमा

डिसी नेपाल
३ वैशाख २०७७ १७:०१

बैतडी । बैतडीका दुई स्थानीय तहमा टोल फ्रि नम्बर सञ्चालनमा आएका छन् । जिल्लाको पाटन नगरपालिका र सुर्नया गाउँपालिकाले कोरोना भाइरस सङ्क्रमण रोकथाम तथा नियन्त्रण योजनाअन्तर्गत पैसा नपर्ने टोल फ्रि नम्बर सञ्चालनमा ल्याइएको नगरपालिकाका प्रवक्ता लोकबहादुर भण्डारीले बताए । जारी लकडाउनका कारण कुनै समस्या परेमा नगरवासीले टोल फ्रि नम्बरमा आफ्ना समस्या राख्न सक्ने र ती समस्या समाधानका लागि नगरपालिकाले प्रयास गर्ने प्रवक्ता भण्डारीले बताए ।

नगरपालिकाले १६६०९५५२००३ नम्बरमा फोन गरेर आफ्ना समस्या, सुझाव र गुनासा राख्न पनि सबै नगरवासीमा आग्रह गरेको छ । कोरोना भाइरसका कारण कुनै समस्या परेमा यो नम्बरमा फोन गर्दा पैसा नलाग्ने बताइएको छ । लकडाउनका कारण कसैलाई खाद्यान्न समस्या, औषधि उपचारलगायत अन्य समस्याहरु पनि भए टोल फ्रि नम्बरमा फोन गरेर राख्न सक्ने र ती समस्या समाधानका लागि नगरपालिकाले उपयुक्त पहल गर्ने नगरप्रमुख केशवबहादुर चन्दले जानकारी दिए ।

जिल्लामा टोल फ्रि नम्बर सञ्चालनमा ल्याउने पाटन नगरपालिका दोश्रो स्थानीय तह बनेको छ । यसअघि सुर्नया गाउँपालिकाले टोल फ्रि नम्बर सञ्चालनमा ल्याइसकेको छ । पाटन नगरपालिकाले यसअघि नै कोरोना रोकथाम तथा नियन्त्रणका लागि २० लाखको राहत कोष स्थापना गरिसकेको छ भने कोरोना नियन्त्रण तथा रोकथाममा खटिएका कर्मचारीको मृत्यु भएमा रु १० लाख क्षतिपूर्ती दिने निर्णयसमेत गरिसकेको नगरपालिकाले जनाएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *