अविरल वर्षा र पहिरोले आठ सडक ठप्प: बिपी र कान्तिलोकपथमा रातिको समयमा यात्रा रोक

डिसी नेपाल
६ साउन २०८३ ९:५६

काठमाडाैं। अविरल वर्षा, पहिरो र बाढीको उच्च जोखिमलाई ध्यानमा राख्दै देशका विभिन्न भागका आठ वटा प्रमुख राजमार्ग तथा सडकखण्डहरू प्रभावित भएका छन्।

नेपाल प्रहरीले दिएको पछिल्लो विवरणअनुसार सम्भावित जोखिमबाट हुन सक्ने क्षति न्यूनीकरणका लागि केही सडकमा पूर्ण रूपमा र केहीमा निश्चित समयका लागि सवारी साधन सञ्चालनमा रोक लगाइएको छ।

जसअन्तर्गत काभ्रेपलाञ्चोक र सिन्धुली जोड्ने बिपी राजमार्गको खुर्कोट-नेपालथोक-कटुन्जे बेँसी खण्डमा बाढीको जोखिमलाई दृष्टिगत गरी अर्को सूचना नभएसम्मका लागि बेलुकी ६ बजेदेखि बिहान ४ बजेसम्म सबै प्रकारका सवारीसाधन चलाउन मनाही गरिएको छ।

त्यस्तै मकवानपुरको कान्तिलोकपथमा पनि वर्षाका कारण सुरक्षा सतर्कता अपनाउँदै अर्को सूचना जारी नभएसम्म बेलुका ५ बजेदेखि बिहान ५ बजेसम्म यातायात सञ्चालनमा रोक लगाइएको छ।

यसैगरी वर्षा र पहिरोका कारण देशका अन्य विभिन्न भागका सडकहरू पूर्ण रूपमा अवरुद्ध भएका छन्। इलामको राजदुवालीस्थित मेची राजमार्गमा वर्षाले सडक अत्यधिक हिलाम्मे भएकाले आवतजावत ठप्प भएको छ।

सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिकास्थित जिरोकिलो र कोदारी क्षेत्रमा ठूलो पहिरो खस्दा अरनिको राजमार्ग पूर्ण रूपमा बन्द भएको छ।

बागलुङको जैमिनीस्थित कालीगण्डकी करिडोर, पाँचथरको राँके-रवि-भेडेटार सडकखण्ड र गोरखाको आरुघाट-माछिखोला सडकमा पनि पहिरो खसेपछि यातायात सेवा अवरुद्ध हुन पुगेको छ।

यसका साथै ललितपुरको बागमती गाउँपालिकास्थित कान्तिलोकपथको पाङ्दुरमा आज बिहान सुक्खा पहिरो खसेपछि उक्त सडकखण्डसमेत पूर्ण रूपमा ठप्प भएको प्रहरीले जनाएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *