बिर्तामोडमा सडक मिचेका संरचना हटाउन अन्तिम १५ दिने अल्टिमेटम, नहटाए नगरपालिका आफैंले भत्काउने
झापा। झापाको बिर्तामोड नगरपालिकाले सडकको क्षेत्राधिकार मिचेर निर्माण गरिएका अनधिकृत संरचना हटाउन पुनः अन्तिम १५ दिने समयसीमा दिएको छ। यसअघि जारी गरिएको सूचनाको बेवास्ता भएपछि नगरपालिकाले दोस्रोपटक सार्वजनिक सूचना जारी गर्दै सम्बन्धित घरधनी तथा व्यवसायीलाई निर्धारित अवधिभित्र संरचना हटाउन आग्रह गरेको हो।
सोमबार जारी सूचनाअनुसार बिर्तामोड र अर्जुनधारा नगरपालिकाको सिमानास्थित महानन्द चोकदेखि मुक्तिचोक हुँदै देवनियासम्मको सडक क्षेत्रमा पर्ने सबै अनधिकृत संरचना १५ दिनभित्र स्वयं हटाउनुपर्नेछ।
नगरपालिकाका अनुसार सडक विभागसँगको समन्वयमा उक्त सडकको नापजाँच तथा रेखाङ्कन कार्य सम्पन्न भइसकेको छ। सो क्रममा सडकको केन्द्रबिन्दुबाट दुवैतर्फ १५–१५ मिटर गरी कुल ३० मिटर क्षेत्रलाई सडकको अधिकार क्षेत्र कायम गरिएको छ।
यसअघि नगरपालिकाले गत जेठ २७ गते पहिलोपटक ३५ दिने सूचना जारी गरी सडक क्षेत्रभित्र बनेका संरचना हटाउन आग्रह गरेको थियो। तर, तोकिएको समयसीमा सकिँदासमेत केही घरधनी र व्यवसायीले संरचना नहटाएपछि दोस्रोपटक अन्तिम सूचना जारी गरिएको नगर प्रशासकीय अधिकृत सागर मिश्रद्वारा हस्ताक्षरित सूचनामा उल्लेख छ।
नगरपालिकाले थपिएको १५ दिनभित्र पनि अनधिकृत संरचना नहटाइए प्रचलित कानुनअनुसार नगरपालिका आफैंले डोजर प्रयोग गरी संरचना हटाउने चेतावनी दिएको छ।
यस्तै, संरचना हटाउने क्रममा लाग्ने सम्पूर्ण खर्च सम्बन्धित घरधनी वा जग्गाधनीबाटै असुलउपर गरिने पनि नगरपालिकाले स्पष्ट पारेको छ।
नगरपालिकाले सडक विस्तार, यातायात व्यवस्थापन र सार्वजनिक आवागमनलाई सुरक्षित तथा व्यवस्थित बनाउन सडकको निर्धारित क्षेत्राधिकारभित्र रहेका अनधिकृत संरचना हटाउने अभियानलाई कडाइका साथ अघि बढाउने जनाएको छ।






डिसी नेपाल





Facebook Comment