जहरसिंह पौवा नाकाबाट मानिस बाहिरिँदै

डिसी नेपाल
३ वैशाख २०७७ १९:०८

काठमाडौँ । कोरोना भाइरसको सङ्क्रमणबाट बच्न तेस्रोपटक बन्दाबन्दी थप गरिएपछि शङ्खरापुर नगरपालिकाको जहरसिंह पौवा नाका हुँदै दैनिक ६० जनाभन्दा बढी मानिस उपत्यकाबाट बाहिरिन थालेका छन् ।

यो नाकाबाट सिन्धुपाल्चोक जिल्लाको क्षेत्र नं २ र नुवाकोटका केही बस्तीका मानिस पनि बाहिरिन थालेको नगरपालिका–३ का अध्यक्ष सन्तबहादुर वाइबाले जानकारी दिए । सोमबारसम्म दैनिक आठ दशजनामात्र बाहिरिने गरेकामा मङ्गलबार दुई साताका लागि बन्दाबन्दी थपिएपछि आज ६० जना पैदल हिँडेर बाहिरिएको उनले बताए । यसरी बाहिरिनेको लप्सेफेदी स्वास्थ्य चौकीले नाम, सम्पर्क नंसहितको अभिलेख राखेर छोड्ने गरेको छ । यो नाकाबाट उपत्यका भित्रन भने रोक लगाइएको छ । “मङ्गलबार बन्दाबन्दी थप भएपछि राति नै सातदोबाटोबाट हिँडेको बच्चासहितको एक परिवार बिहान थकित अवस्थामा जहरहसिँह पौवामा आइपुगेको भेटियो, हिँड्नै नसक्ने भएको र उनीहरुसँग खानेकुरा नभएपछि वडाका तर्फबाट खाजा खुवाएर पठाइयो”,वडाध्यक्ष वाइबाले भने ।

उपत्यकाबाट बाहिरिएका धेरैले काम गर्न नपाउँदा जीवन धान्न गाह्रो भएकाले गाउँ फर्कन लागेको बताएका छन् । यसरी बाहिरिनेसँग खानेकुरा र किन्नलाई पैसासमेत नहुने गरेको वडा कार्यालयले जनाएको छ । दुःख पाएर उपत्यका छोड्ने धेरै भएकाले नगरपालिकाको नाकाबाट बाहिरिन रोक नलगाइएको नगरप्रमुख सुवर्ण श्रेष्ठले बताए । छिमेकी कागेश्वरी मनोहरा नगरपालिकामा कोरोनाका पोजेटिभ घटना भेटिएकाले सजगता भने अपनाइएको उनले सुनाए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *