इच्छाकामना गाउँपालिका अध्यक्षद्वारा अलपत्र मजदूरको उद्धार

डिसी नेपाल
५ वैशाख २०७७ १६:४८

चितवन । कोभिड–१९ को जोखिम हुन नदिन लकडाउन जारी रहेपछि विभिन्न जिल्लाबाट घर जान आएका मजदूरको इच्छाकामना गाउँपालिकाले उद्धार गरेको छ । गाडीमा आएकालाई झर्न नपर्ने व्यवस्था गरेको छ भने पैदल यात्रीलाई सामान झारेर फर्कदै गरेका ढुवानीका गाडीमा राखेर गन्तव्यतर्फ पठाउन थालेको छ ।

गाउँपालिका अध्यक्ष गीता गुरुङले आफ्नो गाउँपालिकामा आइ पुगेका सबैको उद्धार गरी गन्तव्यतर्फ पठाइएको जानकारी दिए । आफँै राजमार्गमा गएर फर्कदै गरेका ढुवानीका साधन रोकेर १६ वटा गाडीमा तीन समयभन्दा बढीलाई गन्तव्यतर्फ पठाइएको उनले बताए । पायकपर्ने ठाउँसम्म पुग्ने गाडीमा राखेर सम्बन्धित व्यक्तिलाई पठाइएको उनले जानकारी दिए ।

पश्चिम र पूर्वी नेपालका विभिन्न जिल्लामा पुग्ने मजदूरहरु रहेको उनको भनाइ छ । अध्यक्ष गुरुङले गाडीमा चढेर आएकालाई प्रहरीले जाँच गरी झार्ने गरेकोमा सो कार्य रोकेर जुन गाडीमा आएको छ त्यही गाडीमा पठाइएको जानकारी दिए । उनले भने, “मेरो गाउँपालिकाभित्र जनताको बिचल्ली भएको टुलुटुलु हेरेर बस्न सक्दिन ।” इच्छाकामना गाउँपालिका धादिङको रोराङ्ग गाउँपालिकासँग जोडिएको छ । राजधानीबाट फर्किएका मजदूरहरु यही बाटो हुँदै बाहिरी जिल्ला जाने गरेका छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *