बगर खेती गर्ने भारतीय माथि निगरानी बढाइँदै

डिसी नेपाल
११ वैशाख २०७७ २०:५७

कञ्चनपुर । बगर खेती गर्ने भारतीय नागरिक माथि शुक्लाफाँटा नगरपालिकाले निगरानी बढाउन थालेको छ । नगरपालिका क्षेत्र भएर बग्ने सुनवरा र स्याली नदीको बगरमा तरकारी खेती गर्ने भारतीय समुदायका व्यक्तिमाथि नगरपालिकाले निगरानी बढाएको हो ।

भारतीय नागरिकको भारत नेपाल ओहोरदोहर भएको अवस्थाका बारे जानकारी लिने कार्य नगरपालिको शुरु गरेको छ । नगरपालिकाका कुन ठाउँमा कति जना भारतीय नागरिकले बगर खेती गरेका छन् भनेर उनीहरुको तथ्याङ्क सङ्कलन गर्नका लागि जनप्रतिनिधि खटाएको नगरप्रमुख दिलबहादुर ऐरले बताए । उनका अनुसार भारतीय नागरिक लकडाउन पश्चात भारततर्फ गए नगएको हेर्ने कार्य भइरहेको छ ।

बगर खेती गर्ने भारतीय नागरिक सबै जनाको अभिलेख राख्ने कार्यलाई प्राथमिकतामा राखे पनि अन्य भारतीय नागरिकको अभिलेख राख्नका लागि नगरपालिकाले कार्य अगाडि बढाएको छ । बगर खेती गर्ने भारतीय नागरिक कात्तिक महिनादेखि यहाँका नदीका बगरमा परिवारसहित आएर बस्ने गरेका छन् । भारतीय नागरिकले बगरमा उत्पादित तरकारी स्थानीय बजारदेखि नेपालगञ्ज र काठमाडौँसम्म निर्यात गर्दै आएका छन् ।

भारतीय नागरिक बिरामी परेको वा शंकास्पद देखिएमा तत्कालै क्वारेण्टाइनमा राख्ने व्यवस्था मिलाइएको छ । नगरपालिकाका नदीका बगरमा तरकारी खेती गर्ने भारतीय ३० बढी परिवार रहेका छन् । यसैगरी, नगरपालिकाले इसायी धर्माबलम्बीमाथि निगरानी राख्ने कार्य शुरु गरेको छ । सामाजिक दूरीको पालना नगरी चर्चमा प्रार्थना तथा सभा हुन थालेपछि नगरपालिकाले निगरानी बढाएको हो ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *