विभिन्न नाकाबाट प्रदेशभित्र प्रवेश गर्नेलाई स्यानिटाइज गर्न निर्देशन

डिसी नेपाल
१२ वैशाख २०७७ १८:३९

हेटौँडा । वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले विभिन्न नाकाबाट वाग्मती प्रदेश प्रवेश गर्ने जो कोहीलाई पनि अनिवार्यरुपमा स्यानिटाइज गर्न निर्देशन दिएका छन्।

विश्वव्यापीरुपमा फैलिएको कोरोना भाइरसको सङ्क्रमण नियन्त्रणका लागि प्रदेश नं २ बाट वाग्मती प्रदेशको राजधानी हेटौँडा भित्रिने यात्रुलाई स्यानिटाइज गर्न हेटौँडा उपमहानगरपालिकाले जडान गरेको स्वचालित स्यानिटाइजर मेशिनको उद्घाटन गर्दै मुख्यमन्त्री पौडेलले उक्त काम स्थानीय तहले गर्नुपर्ने र प्रदेश सरकारले सहयोग गर्ने बताए । उनले स्यानिटाइजरका लागि स्वचालित मेसिन प्रभावकारी हुने बताए । मुख्यमन्त्री पौडेलले प्रदेशका अत्यावश्यक सेवा दिनुपर्ने विभिन्न स्थानमा तत्काल यस्तै स्वचालित उपकरण जडान गरिने उल्लेख गरे ।

वडा नं १५ रातोमाटेमा जडान गरिएको अटोमेटिक स्यानिटाइजर मेशिनको मुख्यमन्त्री पौडेलले आजबाटै शुरुआत गरेका हुन् । उक्त मेशिनको प्रयोग गरेर पूर्वपश्चिम राजमार्गबाट रातोमाटे हुँदै हेटौँडा प्रवेश गर्ने यात्रु, चालक, सहचालकलगायतलाई अनिवार्यरुपमा स्यानिटाइज गरिने जनाइएको छ । एक पटकमा चार जनासम्मलाई स्यानिटाइज गर्न सकिने भए पनि भौतिक दूरी कायम गरी स्यानिटाइज गरिने उपमहानगरपालिकाका स्वास्थ्य शाखा प्रमुख सुपेन्द्र कार्कीले जानकारी दिए ।

नेपाल युवा उद्यमी मञ्च चितवनले उत्पादन गरेको उक्त स्वचालित स्यानिटाइजर उपकरण २०० लिटर क्षमताको रहेको र दुई हजारलाई स्यानिटाइज गर्न सकिने जनाईएको छ । उपकरणको मूल्य रु एक लाख ६० हजार पर्ने बताइएको छ । आफूहरुले निर्माण गरेको स्वचालित स्यानिटाइजर मेसिन प्रभावकारी रहेको र चितवनमा पनि यो प्रविधि जडान गरिएको उत्पादक संस्था नेपाल युवा उद्यमी मञ्चले जानकारी दिएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *